चैत ९, काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एक-आपसमा आज बिहान ठोक्किँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए ।
घाइते भएका तीन मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उनको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् ।
एकै परिवारका पति,पत्नी र छोरा सवार रहेका मध्ये घाइते सुनिता श्रेष्ठको सोही अस्तालमा उपचार भइरहेको र मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस