लकडाउनमा बाहिर निस्केकालाई सम्झाउँदै घर पठाउँदै

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित ४५१ पटक पढिएको
लकडाउनमा बाहिर निस्केकालाई सम्झाउँदै घर पठाउँदै

चैत ११, काठमाडौं। सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक बाहेक घरबाट ननिस्किन निर्देशन जारी गरेपनि सडकका केही स्थानहरुमा मानिसहरु निस्कन थालेपछि उनीहरुलाई घर पठाउन प्रहरीको सक्रियता बढेको छ।

मंगलबार विहान मानिसहरु काठमाडौका विभिन्न चोकहरुमा निस्केर भीडभाड गर्न थालेपछि उनीहरुलाई घर पठाउन प्रहरीको सक्रियता बढाएको हो। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले आदेश कार्यान्वयनमा प्रहरीको सक्रियता बढाएको बताए।

घर भित्र बस्ने निर्णयलाई सर्वसधारणले स्वागत गरिरहेको भएपनि केही मानिसहरु भने बाहिर निस्केकाले प्रहरीले उनीहरुलाई सम्झाएर बुझाएर घर पठाउदै छ। आदेशको सर्वसाधारणहरुले खुलेर प्रशंसा गरिरहेका छन्।

प्रहरीले माइकिंग गरेरै घरबाट ननिस्कन अपिल गरिरहेको छ। सरकारले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड­१९ को रोकथाम र निर्मूूल गर्न सोमबार अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश दिएको छ।

आदेशमा औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ।
अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने पनि आदेशमा उल्लेख छ।

आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्न आदेशमा भनिएको छ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्त दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यकपर्ने कर्मचारी मात्र उपस्थित हुनेछन्।

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई बिदा दिन आदेशमा भनिएको छ।

औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने, अभाव देखाइ मूूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने आदेशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस