काभ्रेमा दुई सय ५३ बेडको क्वारेन्टाइन कक्ष स्थापना

नौलो समाचार संवाददाता
२०७६ चैत्र १४, शुक्रबार मा प्रकाशित ३०७५ पटक पढिएको

काभ्रेमा दुई सय ५३ बेडको क्वारेन्टाइन कक्ष स्थापना
फाइल फोटो

चैत १४, काभ्रे । काभ्रे जिल्लामा विभिन्न स्थानमा दुई सय ५३ बेडको क्वारेन्टाइन कक्ष स्थापना भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन स्थापना गरिएको हो ।

जिल्लाको सदरमुकाम धुलिखेलमा सबैभन्दा बढी क्षमता भएको क्वारेन्टाइन विष्णुदल गणमा नेपाली सेनाले स्थापना गरेको छ ।

नेपाली सेनाले गणको परिसरभित्रै एक सय बेड क्षमता भएको क्वारेन्टाइन स्थापना गरेको विष्णुदल गणका गणपति सुवास खड्काले जानकारी दिए ।

विष्णुदल गणले निर्माण गरेको उक्त क्वारेन्टाइनमा नेपाल रेडक्रस काभ्रेले क्वारेन्टाइनका लागि आवश्यक सामग्री सहयोग गरेको खड्काले जानकारी दिए ।

त्यसैगरी धुलिखेल नगरपालिका र नेपाली सेना विष्णुदल गणले धुलिखेलस्थित सञ्जीवनी उच्च माविमा ५० बेडको क्वारेन्टाइन तयार गरिएको छ ।

साथै बनेपा नगरपालिका, विष्णुदल गण र नेपाल रेडक्रस काभ्रेको संयुक्त पहलमा ६५ बेडको क्वारेन्टाइन निर्माण भएको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले जानकारी दिए । बेनपास्थित नेपाल रेडक्रस तालिम केन्द्रमा क्वारेन्टाइन निर्माण गरेको तिमल्सिनाले जानकारी दिए । बनेपा पोलिटेक्निक स्कुल र अन्य स्थानमा पनि क्वारेन्टाइन निर्माण भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी नेपाली सेनाको सहयोगमा पाँचखाल नगरपालिकाले ३० बेड र नमोबुद्ध नगरपालिकाले आठ बेडको क्वारेन्टाइनको निर्माण गरिसकेका छन् ।

धुलिखेलमा हटलाइन नम्बर

धुलिखेल नगरपालिकाले आफ्नो नगरभित्रका नागरिकलाई अप्ठ्यारो परेमा सम्पर्क गर्ने निःशुल्क नम्बरको व्यवस्था गरेको छ ।

नगरवासीहरूलाई जुनसुकै अवस्थामा भए पनि जान्न–बुझ्नका लागि सहजै नगरपाकिलामा सम्पर्क गर्न सकून् भनेर हटलाइन नम्बरको व्यवस्था गरेको नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले बताए ।

नगरपालिकाको हटलाइन नम्बर १६६०११४९३२९ रहेको छ ।

त्यसरी नै जिल्लामा विभिन्न अस्पतालले २३ बेडको आइसोलेसन कक्ष पनि तयार गरेका छन् ।

धुलिखेल अस्पतालले आठ बेडको, शिर मेमोरियल अस्पतालले पाँच बेडको, मेथिन्कोट अस्पतालले पाँच बेडको र पाँचखाल स्वास्थ्य चौकीले पाँच बेड क्षमताको आइसोलेसन कक्ष तयार पारेका हुन् ।


प्रतिक्रिया दिनुहोस