नयाँ मान्छे गाउँ पसे २५ हजार जरिवाना

नौलो समाचार संवाददाता
२०७६ चैत्र २०, बिहिबार मा प्रकाशित ९२१ पटक पढिएको
नयाँ मान्छे गाउँ पसे २५ हजार जरिवाना

चैत २०, सिमकोट । सम्भावित कोरोना संक्रमणविरुद्ध सजगता अपाउन नयाँ नयाँ जुक्तिहरु अपनाउन थालिएको छ । गाउँबासीलाई उक्त संक्रमणबाट जोगाउनका लागि वडा कार्यालयहरुले यस्तो जुक्ती निकालेका हुन् ।

नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँमा कुनै पनि नयाँ व्यक्ति गाउँमा प्रवेश गर्न निषेध गरेको छ । कोही त्यस्ता व्यक्ति अटेर गरि गाउँ प्रवेश गरे २५ हजार रुपैयाँ जरिवानासहित क्वारेन्टाइनमा बस्नु पर्ने वडा कार्यालयले निर्णय गरेको हो । स्थानीय छेपाल लामाका अनुसार कोरोनाबाट बच्न वडा कार्यालयले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसबाट सचेत र सतर्क रहन वडाको चार किल्लामा गाउँले मिलेर पहरा बस्न सुरु भएको होे । वडा भित्रको क्षेत्र टुलुङ्बामा क्वारेन्टाइनको व्यवस्था गरिएकोले अब गाउँ बाहिरबाट आउने जुनसुकै व्यक्तिले उतै बस्नु पर्नेछ । केही गरि अटेर गरेर आउनेले २५ हजार दण्ड तिर्नुपर्ने छ ।

त्यसै गरि सोही गाउँपालिकाको वडा नम्बर २ को केर्मी गाउँले पनि नयाँ व्यक्ति गाउँ प्रवेश गरे पाँच हजार जरिवानाको व्यवस्था गरेको जनाएको छ ।

सो वडाले पनि क्वारेन्टाइनको व्यवस्था गरेको छ । उक्त क्वारेन्टाइनमा नयाँ वा गाउँकै मानिसहरु पनि बाहिरबाट आए बस्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस