पाेखरामा काेराेना संक्रमित नयाँ बिरामी छैनन् : स्वास्थ्य मन्त्रालय

नौलो समाचार संवाददाता
२०७६ चैत्र २१, शुक्रबार मा प्रकाशित ९३० पटक पढिएको
पाेखरामा काेराेना संक्रमित नयाँ बिरामी छैनन् : स्वास्थ्य मन्त्रालय

चैत २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको प्रष्ट पारेको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट नआएको प्रष्ट पारेका हुन्।

‘विभिन्न मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर आएको छ’, प्रवक्ता देवकोटाले भने, ‘पोखरामा कुनै पनि केस पुष्टि भएको छैन।’ प्रवक्ता देवकोटाले सबै प्रदेशमा मेसिन गएको र त्यहाँ परीक्षण सुरु भएको भए पनि ‘भ्यालिडेसन’ आवश्यक पर्ने हुँदा नमुना पुनः परीक्षण गर्नुपर्ने बताए।

देवकोटाले केही शंकास्पद केसको परीक्षण केन्द्रीय प्रयोगशालामा भएपछि मात्र यकिन हुने प्रष्ट पारे। ‘नयाँ मेसिन सेटअप भएकाले केही नमुना पुनः परीक्षण गर्नुपर्ने हुन्छ’, देवकोटाले भने, ‘केही केस शंकास्पद भएमा फेरि परीक्षण गर्नुपर्छ। पोखराबाट कुनै पनि पोजेटिभ रिपोर्ट आएको छैन।’

बिहीबार मात्र एक महिलामा कोरोना पुष्टि भएको थियो। बिहीबार पुष्टि भएकी संक्रमित ६५ वर्षीया महिला चैत ४ गते कतारको दोहाबाट आएको क्यूआर ६५२ को फ्लाइटमा काठमाडौं आएकी थिइन्। यसअघि यही विमानमा आएका दुईजनामा कोरोना पुष्टि भएको थियो।

नेपालमा अहिलेसम्म ६ जनाका कोरोना पुष्टि भएको छ। कोरोना आशंकामा देशभर १२० जना आइसोलेसनमा छन्। उपत्यकामा १५ र सात प्रदेशमा १०५ जनाको आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस