धार्चुलामा रहेका २३ सय नेपालीले एक महिनापछि बल्ल टेक्न पाए देशको माटो

नौलो समाचार संवाददाता
२०७७ बैशाख १८, बिहिबार मा प्रकाशित ३४० पटक पढिएको
धार्चुलामा रहेका २३ सय नेपालीले एक महिनापछि बल्ल टेक्न पाए देशको माटो

बैशाख १८, धनगढी । एक महिनादेखि भारतको पिथौरागढस्थित धार्चुला र आसपासका क्वारेन्टाइनमा रहेका २३ सयभन्दा बढी नेपालीलाई बिहीबार नेपाल प्रवेश गराइएको छ।

लकडाउनका कारण नेपाल प्रवेश गर्न नपाएर समस्यामा परेका उनीहरुलाई बिहीबार दार्चुलाका दुई र बैतडीका एक गरी तीन वटा नाकाबाट स्वदेश फर्काइएको छ।

जिल्ला प्रशासनल कार्यालय दार्चुलाका अनुसार दत्तु र खलंगा नाकाबाट आज १३ सयभन्दा बढी मजदुरको उद्धार गरिएको छ।

बैतडी, बझाङका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइएको हो भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

उद्धारपछि स्वस्थ्य जाँच गर्दै अधिकांशलाई बिहीबार नै गन्तव्यमा पठाइएको उनले बताए। कैलाली र कञ्चनपुरसहित केही पूर्वी जिल्लाका नागरिकलाई भने खलंगाकै क्वारेन्टाइनमा राखिएको छ।

त्यसैगरी बैतडीको झुलाघाट नाकाबाट पनि प्रवेशमा अनुमति दिइएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार झुलाघाट नाकाबाट आज एक हजार ५० को उद्धार गरिएको छ।

उनीहरुलाई सम्बन्धित पालिकाहरुमा पठाउने क्रम जारी रहेको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस