रामेछापमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल आयातमा प्रतिबन्ध

नौलो समाचार संवाददाता
२०७७ बैशाख १९, शुक्रबार मा प्रकाशित १०४६ पटक पढिएको
रामेछापमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल आयातमा प्रतिबन्ध

बैशाख १९, रामेछाप । रामेछापमा तराई लगायत अन्य जिल्लाबाट तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइएको छ । तराईका जिल्लाबाट फलफूल, माछामासु कुखुरा र अण्डा लगायत खाद्य वस्तु निर्बाध रुपमा आयात गर्दा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले बिहीबार मध्यरातिबाट लागू हुने गरी तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध बैशाख २५ गते मध्यराति सम्म कायम रहने जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले तराईबाट तरकारी तथा फलफूल ल्याउन रोक्ने निर्णय गरेको हो ।

विगतमा अरु पेशा व्यवसाय गर्नेले समेत लकडाउनमा तराईबाट निर्बाध तरकारी ल्याएर बिक्री गर्न थालेका थिए । स्थानीय व्यवसायीले उत्पादन गरेको तरकारीले भने बजार पाएको छैन । स्थानीयको तुलनामा तराईको तरकारी सस्तो भएकाले बजारमा स्थानीय तरकारीले स्थान पाएको छैन ।

छिमेकी जिल्ला सिन्धुलीले यसअघिनै तराईका जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइसकेको छ । यसैबीच, प्राथमिकता प्राप्त विकास आयोजनामा दुरी कायम गरी काम गर्न सके स्थानीय प्रशासनले अनुमति दिने निर्णय भएको उक्त निर्णयको आधारमा बिहीबारनै केहि निर्माण व्यवसायीले विकास निर्माणको कामका लागि अनुमति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस