काेराेना भाइरसबाट मृतक सुत्केरीका श्रीमान सहित आफन्त धुलिखेल अस्पतालबाट डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित ३४२ पटक पढिएको
काेराेना भाइरसबाट मृतक सुत्केरीका श्रीमान सहित आफन्त धुलिखेल अस्पतालबाट डिस्चार्ज

जेठ ५, काभ्रे । काेराेेेना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाका श्रीमान सहित आफन्तहरु डिस्चार्ज भएका छन् । धुलिखेल अस्पतालको आइसोलेसन वेडमा रहेका उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएपछि सोमबार डिस्चार्ज भएका हुन् ।

ज्वरो, रुघाखोकी र सासफेर्न समस्या भएपछि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ राम्चेकी २९ बर्षीय सुत्केरी महिला गत विहिबार धुलिखेल अस्पताल भर्ना भएकी थिइन् । उनको सोहि दिन राती उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस पछि उनका श्रीमान, १३ दिने नवजात शिशु सहित अस्पताल आइपुगेका आफन्तको पनि कोरोना भाइरस परीक्षण गरिएको थियो ।

मृतक महिलाका आफन्तमा कोरोना संक्रमण पुष्टि नभएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार धुलिखेल अस्पतालमा अहिले पनि ८ जना आइसोलेसनमै राखेर उपचार भइरहेको छ ।

काभ्रेमा हाल २७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पनि कोरोना परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर झाले बताए ।

प्रतिक्रिया दिनुहोस