विदेशमै कोरोना परीक्षण गरेरमात्र नेपाल ल्याउने निर्णय, सबै देशहरुलाई औपचारिक पत्र पठाइँदै

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित ३०२ पटक पढिएको
विदेशमै कोरोना परीक्षण गरेरमात्र नेपाल ल्याउने निर्णय, सबै देशहरुलाई औपचारिक पत्र पठाइँदै

जेठ १८, काठमाडौं । नेपाल फर्काइन लागेका व्यक्तिहरुलाई जहाज चढाउनुअघि नै कोरोना परीक्षण गर्न सम्बन्धित देशहरुलाई औपचारिक आग्रह गर्दै पत्र पठाइने भएको छ। नेपाल सरकारले ती देशहरुमा नेपालबाट जानेहरुका लागि यहीं नै कोरोना परीक्षण गरेरमात्र पठाउने आफ्नो प्रतिबद्धता पनि जनाएर पत्र पठाउने छ।

खाडी तथा अन्य मुलुकहरुमा कोरोना महामारीका कारण धेरै प्रभावित भएको अवस्थामा ती देशहरुबाट थप रोगी नेपाल नभित्रिउन र संक्रमित भए उपचारपछि मात्रै स्वदेश ल्याउन सकियोस् भन्नका लागि सरकारले यस्तो निर्णय गरेको हो। शनिबार बसेको मन्त्रिपरिषद्को बैठकमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले सो प्रस्ताव औपचारिकरुपमै राखेका थिए।

विदेशमा विविध कारणले अड्किएका वा स्वदेश आउन चाहने नेपालीलाई ल्याउने र तिनको ब्यबस्थापनमा नेपाली सेनालाई परिचालन गर्ने निर्णय भएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले “जुन जुन देशमा बसेका नेपाली हुन्।उनीहरुको कोरोना टेस्ट त्यही देशले गरिदिने र नेपालबाट आआफ्नो देश फर्किन चाहनेलाई पनि स्वास्थ जाँच गरेरमात्र पठाउने” प्रस्ताव राखे। उनको यो प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित गरियो। अब सोही प्रयोजनसहितको पत्राचार र समन्वय परराष्ट्र मन्त्रालयले गर्ने निर्णय भएको छ।

बैठकमा विदेशबाट फर्काइने नेपाली नागरिकहरुको व्यबस्थापन कार्यविधिका केही पक्षमा पनि छलफल भएको थियो। फर्कनेहरुलाई १४ दिन अनिवार्य तोकिएको क्वारेन्टाइनमा बस्नुपर्ने व्यबस्था गरिएको छ। ती मध्ये जो पैसा खर्च गर्न सक्ने हैसियत राख्छन् तिनलाई पैसा तिराउदै केही दिन होटेलमा राखेर उनीहरुका बासस्थान पठाइ दिने तथा आयस्रोत कम भएका र बेखर्चीलाई पार्टी प्यालेस लागायतका स्थानमा राख्ने र सबैलाई झुल र खानपिनको राम्रो सुबिधा उपलब्ध गराउने तय भएको एक मन्त्रीले बताए।

पाँच बजे बैठकमा पुगेका मन्त्रीहरू ८।३० सम्म १—१ कप कालो चियाको भरमा बालुवाटारमा बसेका थिए। एक मन्त्रीले डिसीनेपाल सँग ठट्यौली पारामा भने, ‘बाहिर सुन्दा मन्त्रपिरिषद् बैठक के के न होलाजस्तो लाग्दो हो१ भित्रको हालत त्यस्तो छ। पहिले पहिले त प्रधानमन्त्रीले के के भनेर हँसाउनुहुन्थ्यो अहिले त्यो पनि बन्द भएको छ।’

उनै मन्त्रीले थपे, “खोकेको समेत मिडियामा आउन थालेपछि प्रधानमन्त्री सतर्क हुनुभएको छ ।” शनिवार बसेको मन्त्रिपरिषद् बैठकमा अधिकांश समय कोरोनाको प्रकोप र यसको नियन्त्रण तथा व्यबस्थापनकै बारेमा छलफल भएको थियो। साँझ ५ बजे शुरु हुने भनिएको बैठक सुरक्षा परिषद्को बैठक लम्बिएका कारण पर सरेर सांझ ६।३० मा पुगेको थियो

प्रतिक्रिया दिनुहोस