जेठ २३, काभ्रे । काभ्रेको पनौती नगरपालिकामा गत १४ गते अबिरल वर्षासँगै आएको बाढीले कृषि क्षेत्रमा मात्रै २० करोडको क्षति पुर्याएको पाइएको छ । बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको बिवरण संकलन गर्न गठित वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले नेतृत्व गरेको पाँच सदस्यीय समितिले २० करोडको क्षति भएको प्रतिवेदन नगरपालिकामा बुझाएको हो ।
तरकारी, धान खेती र मकै बालीमा धेरै बढी क्षती पुगेको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत एवंम सूचना अधिकारी इन्द्र प्रसाद अधिकारीले जानकारी दिए । करिब सात सय ओटा प्लास्टिकका टनेलहरुमा क्षती पुगेको प्रतिवेदनमा भेनिएको छ ।
त्यस्तै खोला छेउ छाउका खेतहरु बाढीसँग आएको पाँगो माटोले भरिएका छन् । पाखो बारीहरु बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले किसानलाई क्षतिपूर्ती दिनेबार छलफल थालिसकेको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए ।
यस्तै बाढीले भौतिक पुर्वाधार तर्फ पनौति क्षेत्रमा जोडिएका तिनओटा महत्वपुर्ण पक्की पुलहरु बगाएको छ । खोपासी बाट पस्थली जोड्ने पुल, वडा नम्बर ३ को पशुपति मन्दिरबाट बस्ति तर्फ जोडिएको पुल पनि संरक्षण गर्नु पर्ने अवस्थामा पुगेको छ ।
रोशीखोला र पुन्यमाता खोला तर्फ भएको बाँध बाढीले बगाएको छ । सिंचाईका बाँध कुलोहरुमा पनि क्षति पुगेको छ । भौतिक क्षतिको लागत वितरण तयार गर्ने जिम्मा प्राविधिकलाई दिइएको वडा नम्बर ९ का वडा अध्यक्ष एवंम भौतिक पुर्वाधार तर्फ बाढीले पुर्याएको क्षतिको बिवरण संकलन गर्न गठित समितिका संयोजक सहकुल कुमार हुमागाईले बताए ।
प्रतिक्रिया दिनुहोस