याे वर्षायाममा खानुभयाे निगुराे ? निगुरो खाँदा यस्ता फाइदा

नौलो समाचार संवाददाता
२०७७ अषाढ १६, मंगलबार मा प्रकाशित १९०९ पटक पढिएको
याे वर्षायाममा खानुभयाे निगुराे ? निगुरो खाँदा यस्ता फाइदा

असार १६, काभ्रे । यतिबेला बनजंगलमा निगुरो पाइन्छ । कतिपयले जंगलबाट खोजेरै निगुरोको तरकारीले छाक टार्ने गर्छन् । निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ ।

निगुरो बनजंगलमा आफै पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो । निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन ।

निगुरो तरकारीको रुपमा प्रयोग गरिन्छ । नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन । वर्षायाम लागेसँगै कतिले बनजंगलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन् । निगुरोलाई भुटेर वा आलुसँग मिसाएर पनि सेवन गर्न सकिन्छ ।

निगुरोका फाइदा

निगुरो खानुका धेरै फाइदाहरु छन् । आफै बनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । बनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाई छ ।

निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निगुरो झनै बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । पोषणविदहरुले यसमा कोलेस्ट्रोल एवं बोसोजन्य पदार्थ नपाईने भएकाले कुनैपनि किसिमको हानी नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस