कोरोना अपडेटः संक्रमित १६ हजार ७१९, निधन ३८, डिस्चार्ज ८ हजार ४४२

नौलो समाचार संवाददाता
२०७७ अषाढ २७, शनिबार मा प्रकाशित ५४५ पटक पढिएको
कोरोना अपडेटः संक्रमित १६ हजार ७१९, निधन ३८, डिस्चार्ज ८ हजार ४४२

असार २७, काठमाडौँ । काठमाडौंका दुईजनासहित नेपालमा कोरोनाबाट थप तीनजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई र सिन्धुपाल्चोकका एकजनाको कोरोनाबाट मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो। फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएका ती पुरुषमा असार १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डा. गौतमले बताए। मृगौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो। असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए। असार २१ गते स्वाबको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षका पुरुषको पनि असार २५ गते नै निधन भएको छ। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा शनिबार ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ७ सय १९ पुगेको छ।

विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार २ सय ३९ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। अहिले देशभरीका क्वारेन्टिनमा २४ हजार ९७ जना रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ।

सरकारले पछिल्लो केही दिनयता कोरोनाको पीसीआर परीक्षण घटाउँदै लगेको छ। हरेक दिन साढे ४ हजारको औषतमा परीक्षण गरिरहेको सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ।

हालसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस