सिन्धुपाल्चोकका पहिरोपीडितका घर वाग्मती प्रदेश सरकारले बनाइदिने

नौलो समाचार संवाददाता
२०७७ श्रावण ४, आईतबार मा प्रकाशित ४२४ पटक पढिएको

सिन्धुपाल्चोकका पहिरोपीडितका घर वाग्मती प्रदेश सरकारले बनाइदिने

साउन ४, हेटौंडा। सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको छ । स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गर्ने बागमती विपद् व्यबस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई तत्काल राहत पनि उपलब्ध गराइने भएको छ । समिति अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सभाध्यक्षतामा बसेको बैठकले क्षतिको अबस्था हेरेर तत्काल स्थानीय तहमार्फत् राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

समितिले बाह्रबीसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । उक्त रकमबाट स्थानीय तहले कार्यविधिअनुसार राहत, घाइतेको उपचार, पुनस्र्थापनालगायत काम गर्न सक्नेछन् ।

यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम १ लाख पनि तत्काल उपलब्ध गराइने समितिले जनाएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५, जम्बु र भोटेकोशी गाउँपालिका–५, बुलकोटेका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढीपहिरो पीडित ८० परिवारलाई आर्थिक सहयोग गरेको हो ।

कांग्रेसले भोटेकोशी गाउँपालिकाका घरवारविहीन ८० परिवारलाई प्रतिपरिवार ५ हजार रुपियाँका दरले प्रभावित क्षेत्रमा बितरण गरेको छ । काठमाडौंको ह्याम्स अस्पताल पुगेर ३ जना मृतकका परिवारलाई नगद १० हजारका दरले र ७ जना घाइतेलाई पनि १० हजार रुपियाँका दरले १ लाख रुपियाँ प्रदान गरिएको संसदीय दलका सचिव निमा लामाले बताए।


प्रतिक्रिया दिनुहोस