चैत १, काभ्रे । काभ्रेको बनेपामा अनलाईन न्युज संजाल काभ्रेको छलफल तथा अन्तरक्रिया कार्यक्रम आज (आईतबार) सम्पन्न भएको छ । काभ्रे जिल्लालाई कर्म थलो बनाएर संचालनमा आएका अनलाईनकर्मीहरुको अन्तरक्रियामा अनलाईन मिडियालाई कसरी समेट्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
एक्टिभ मिडिया नेपालका संचालक मणिराम दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना रहनुभएको थियो भने विशिष्ट अथितीमा पत्रकार महासंघ बागमती प्रदेशका उपध्यक्ष येदुनाथ गौतम, प्रेस युनियनका अध्यक्ष कपिल कोइराला, प्रेस चौतारीका अध्यक्ष भुवन रायमाझी, अग्रज पत्रकार इश्वोरी राजकुमार मैनाली, महेश खरेल, प्रल्हाद शर्मा हुमागाईं, रमा दाहाल लगायत अनलाइन मिडियाकर्मीहरुको उलेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले सबैसंग समन्वय गर्दै अनलाइन मिडियालाई व्यवस्थित गर्ने र अनलाइनको हितमा कार्य गर्न सुझाव दिदै पत्रकार महासंघ काभ्रे सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो । यस्तै अन्य वक्ताहरुले पनि स्पष्ट नीति बनाएर सबैलाई समेट्दै अनलाईन मिडिया र मिडियाकर्मीको हितमा काम गर्न संगठन निर्माण गरेर अगाडी बढ्न सुझाव दिएका छन् ।
अनलाईन न्युज संजाल काभ्रेको अन्तरक्रिया कार्यक्रमले काभ्रे जिल्लालाई कर्म थलो बनाएर संचालनमा आएका अनलाईन तथा अनलाईन संचारसंग सम्बन्धित सबै संघसस्थाहरुसंग समन्वय र सहजीकरण गरि अनलाईन संचारमाध्यमलाई व्यवस्थित गर्न आवश्यक कार्यहरु तयार पारि एक महिना भित्र प्रारम्भिक भेला गर्न केशबराज पौडेलको संयोजकत्वमा एघार सदस्यीय समिति बनाईएको छ । समितिमा सुरज श्रेष्ठ, मणिराम दाहाल, अशोक महत, बिकाश तिमल्सिना, पुरुषोत्तम ढकाल, रामप्रसाद ढकाल, ज्योति श्रेष्ठ, जानुका खनाल, इन्द्रबहादुर थापा, चित्र तामाङ सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस