बैशाख ७, काभ्रे । नमोबुद्ध नगरपालिकाको सभाहलमा मंगलबार फरक दृश्य देखियो । सभाहलमा नगरसभा भइरहँदा नगर प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा वडा अध्यक्षहरु दर्शक दीर्घामा थिए भने नगर प्रमुखको रुपमा मञ्चमा बसेका थिए १७ बर्षका सुजन सुन्दास ।
जसरी नमोबुद्ध नगरपालिकाको नियमितरुपमा बर्खे र हिउँदे नगर सभा सञ्चालन हुने गरेको छ, त्यही शैलीमा नगरसभा सञ्चालन भइरहेको थियो । नमोबुद्ध नगरपालिका नगर युवा परिषदको आयोजनामा भएको नमुना युवा नगर सभाको अभ्यास भइरहँदा युवाहरुले आफ्ना सवालमात्रै उठाएनन्, नगरमा रहेका अन्य समस्यामा समेत ध्यानाकर्षण गराए । उनीहरुले समस्याको समाधानका उपायसमेत नगरसभामार्फत प्रस्तुत गरे । नमुना युवा नगरसभामा नगर प्रमुख बनेका सुन्दास कार्यक्रममा सहभागी युवाहरुबाट निर्वाचित भएका थिए ।
नगरका ११ वटै वडाका १६ देखि २४ बर्ष उमेर समूहका ३० जना युवाको सहभागितामा नगर प्रमुख र उपप्रमुख चयन गरिएको थियो । उपप्रमुखमा संगीता दाहाल निर्विरोध निर्वाचित भइन् भने प्रमुखका लागि तीन जनाबीच प्रतिस्पर्धा भएकोमा सुन्दास निर्वाचित भए ।
नमुना नगरसभामा युवाहरुले खानेपानीको समस्या, बेरोजगारीका समस्या, प्राविधिक शिक्षाको व्यवस्थापन लगायतका विषयमा आवाज उठाएका थिए ।
कार्यक्रममा नगरसभा सदस्यको रुपमा सहभागी पूजा पाण्डेले नगरका सबै विद्यालयमा किशोरीका लागि सेनिटरी प्याडका व्यवस्थापन गर्दै महिनावारी भएको समयमा पनि विद्यालय जानसक्ने वातावरण बनाउनुपर्ने, प्राविधिक शिक्षालयको स्थापना गर्नुपर्ने बताइन् भने सुजन थापाले युवाका लागि नगरमै गुणस्तरीय शिक्षाको व्यवस्थापन गरेर अध्ययनका लागि बाहिर जाने समस्या समाधान गर्नुपर्ने बताए । सभामा सहभागी अन्य युवाहरुले नगरभित्र देखिएको आगलागीको समस्या, युवाहरुले रोजगारी नपाएको, सडकमा यातायात सञ्चालन हुन नसकेको, खानेपानीको अभाव देखिएको लगायतका विषयमा सभाको ध्यानाकर्षण गराएका थिए । उनीहरुले कृषि र पर्यटकीय नगर नमोबुद्धमा पर्यटन क्षेत्रको विकासका लागि योजना बनाउन पनि माग गरे ।
सभामा उठेका प्रश्नको जवाफ दिँदै नगर प्रमुखको रुपमा मञ्चमा बसेका सुजन सुन्दासले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइने, प्राविधिक शिक्षामा जोड दिइने बताए । उनले हरेक वडामा खेल मैदानको व्यवस्थापन गरिएको, सडक कालोपत्रे गर्ने कामहरु भइरहेको, पर्यटकीय र धार्मिक क्षेत्रको विकासको योजना बनाइएको बताए । नमुना नगरसभाले आगलागीको समस्या समाधानबारे सार्वजनिक महत्वको प्रस्ताव पारित गर्नुका साथै बिनियोजन विधेयकसमेत पारित गरेको थियो ।
कार्यक्रमका सहभागी युवाहरुलाई तीन दिनसम्म प्रशिक्षण दिएपछि मंगलबार नमुना युवा नगर सभा सञ्चालन गरिएको हो । युवाहरुको सवाल पहिचान र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।
नमुना नगरसभा सम्पन्न भएसँगै आयोजित समापन समारोहमा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमुना नगरसभामार्फत उठेका विषयलाई आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गराउने बताए । युवाले उठाएका नगरभित्रका समस्यालाई संवोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले नगरमा सुशासन कायम गर्न, नगरको समग्र विकास गर्न युवाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नमोबुद्धलाई बालमैत्री र युवामैत्री नगर बनाउन थप योजनाहरु सञ्चालन गर्ने पनि बताए ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले युवाहरुले उठाएको समस्या समाधानका लागि नगरपालिका प्रतिवद्ध रहेको बताए । नमुना युवा नगरसभा नगरपालिकाको नियमित नगरसभाजत्तिकै प्रभावकारीरुपमा सञ्चालन भएकोमा पौडेलले युवाहरुको प्रशंसासमेत गरे । किताबी ज्ञान र कागजी कुरामात्रै होइन व्यवहारमै गरिने क्रियाकलापले धेरै कुरा सिकिने बताउँदै उनले यो नगरसभाले युवालाई नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं। ११ का अध्यक्ष कृष्णवहादुर लामाले नगरपालिकाले युवालाई प्राथमिकतामा राखेर आगामी दिनमा काम अगाडि बढाउने बताए । यस्तै जिल्ला युवा समितिका अध्यक्ष प्रकाश रोक्काले युवाहरुका लागि नमोबुद्ध नगरपालिकाले गरिरहेको कार्य प्रशंसनीय भएको बताए । युवालाई स्वरोजगार बनाउन स्थानीय सरकारहरुले जोड दिनुपर्ने बताउँदै उनले युवालाई विदेश पलायन हुनबाट रोक्नसके मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान युवाहरुबाटै हुने बताए । युवा स्वरोजगार कोषमार्फत केही हदसम्म भए पनि रोजगारीमा वृद्धि भएको पनि उनले बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल, युवा अभियन्ता सञ्जीप न्यौपाने लगायतले नमना युवा नगरसभाको उद्देश्यबारे मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी युवामध्येबाट पूजा पाण्डे र दिनेश भुजेलले आफूहरुको समस्यालाई नगरपालिकासमक्ष राख्न यो कार्यक्रमले प्रभावकारी भूमिका खेलेको बताए । कार्यक्रमको सञ्चालन नगर युवा परिषदका कार्यकारी सदस्य लक्ष्मीराज चिमौरियाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस