रुप फेर्दै सोती खोला: भकुण्डे फाँट सिञ्चाई सुविधासहित हराभरा हुने

नौलो समाचार संवाददाता
२०७८ बैशाख ११, शनिबार मा प्रकाशित ६६७ पटक पढिएको
रुप फेर्दै सोती खोला: भकुण्डे फाँट सिञ्चाई सुविधासहित हराभरा हुने

बैशाख ११, काभ्रे। केही दशक अघिसम्म भकुण्डे क्षेत्रको सिञ्चाईको मुख्य आधारको रुपमा रहे पनि पछिल्ला बर्ष अस्तित्वको खोजीमा रहेको सोती खोलाले अब भने आफ्नो रुप फेर्ने भएको छ । यससँगै सोती खोलाको भरमा रहेका भकुण्डे फाँटका हजारौं रोपनी जग्गा फेरि सिञ्चाई सुविधासहित हराभरा हुने भएका छन् ।

नमोबुद्ध नगरपालिकाले सोती खोला जलाधार व्यवस्थापन कार्यक्रम सुरु गरेसँगै सोतीले आफ्नो रुप फेर्न लागेको हो । यो कार्यक्रमअन्तर्गत अहिले पहिलो चरणमा नमोबुद्ध नगरपालिका २ मा झण्डै आधा किलोमिटर क्षेत्रमा खोला संरक्षणको काम सम्पन्न भइसकेको छ । वन तथा वातारण मन्त्रालयको जलवायु नमुना कार्यक्रमअन्तर्गत आधा किलोमिटर क्षेत्रमा सोती खोला संरक्षणका लागि दायाँवायाँ पर्खाल लगाउने काम सकिएको छ ।

बहुबर्षे योजनामा परेको यो आयोजना सम्पन्न भएपछि सोती खोलाबाट भकुण्डे र आसपासका किसानले पर्याप्तमात्रामा सिञ्चाई सुविधा उपभोग गर्न पाउनेछन् । नमोबुद्ध नगरपालिकाले सोती खोला संरक्षण र व्यवस्थापनका लागि २०३४ सालको नापीअनुसार खोलाको सीमांकन गरेर काम सुरु गरेको थियो । पहिलो चरणमा खोलाको संरक्षण गर्ने, बीचबीचमा पोखरी निर्माण गर्ने, खोलाको दुबैतर्फ वृक्षारोपण गर्ने र सोती कोरिडोर निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । अहिले खोलाको मुलसमेत सुकेको र पानीको आधार नभएकाले भकुण्डे क्षेत्र सुख्खाग्रस्त रहेको भन्दै शर्माले केही बर्षपछि भकुण्डेमा सिञ्चाईको अभाव नहुनेगरी कार्यक्रमलाई अघि बढाइएको नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार प्रदेश सरकार र संघीय सरकारका अन्य निकायसँग पनि सहकार्य गर्दै कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने प्रयास भइरहेको छ ।

सोती खोला जलाधार व्यवस्थापन कार्यक्रमअन्तर्गत यस बर्ष ९९ लाख ६८ हजार रुपैयाँको काम सम्पन्न भएको छ । त्यसमा १५ लाख २९ हजार रुपैयाँ जनश्रमदानबाट र बाँकी नेपाल जलवायु अनुकुलन कार्यक्रममार्फत खर्च भएको छ । नमोबुद्ध नगरपालिकाका इन्जिनियर उज्ज्वल अर्यालका अनुसार सहायक खोलासहित सोती खोला व्यवस्थापनका लागि कुल ४५ करोड ६८ लाख रुपैयाँ खर्चहुने अनुमानसहितको डिपिआर तयार भइसकेको छ । डिपिआरअनुसार खोलाको दुबैतर्फ कोरिडोरसमेत निर्माण हुनेछ । नमोबुद्ध नगरपालिका २, ३, ४ र ७ अन्तर्गत ४।३०५ किमी लम्बाईमा सोतीखोलाको मुहानदेखि दाप्चा खोलासम्म यो काम सम्पन्न हुनेछ ।

नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार भकुण्डे फाँटमा रहेका यँटा उद्योग विस्थापनसँगै किसानहरुलाई राहत दिनका लागि यो योजना फलदायी सावित हुनेछ । सोती खोला अहिले डोबको रुपमा मात्रै रहेको र पहिलेको नापीअनुसार खोलाको क्षेत्र छुट्याएर सोतीलाई पुनर्जीवन दिन लागिएको छ ।

वन मन्त्रालयकी उपसचिव सिर्जना श्रेष्ठले आगामी बर्षमा कार्यक्रमलाई निरन्तरता दिने र जलवायु नमुना कार्यक्रमलाई नमुनाको रुपमा अघि बढाउने बताइन् । नमोबुद्धमा यो कार्यक्रमले सफलता पाएपछि देशका अन्य स्थानमा पनि यसलाई मोडलको रुपमा लिएर सञ्चालन गर्ने श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस