नव क्षितिज साप्ताहिक २५ औँ वर्ष प्रवेश

नौलो समाचार संवाददाता
२०८२ बैशाख ८, सोमबार मा प्रकाशित १८२ पटक पढिएको
नव क्षितिज साप्ताहिक २५ औँ वर्ष प्रवेश

फुलबारी / काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित नव क्षितिज साप्ताहिक स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको छ । ‘असल शासनको लागि ग्रामीण पत्रकारिता’ भन्ने नारा दिएर सुरु भएको साप्ताहिकले स्थापनाको २४ वर्ष पूरा गरेको हो ।

सोमबार फूलबारी स्थित दूषित थानी रिसोर्टमा रजत वर्ष शुभारम्भ समारोह आयोजना गरियो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शुभारम्भ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले गत असोज १० देखि १२ को अविरल वर्षापछिको बाढी र पहिरोले वी.पी राजमार्गमा पु¥याएको क्षति को स्मरण गर्दै प्रकृतिको बारेमा कलम चलाउन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

राजनीतिक इतिहासलाई ऐनाको रूपमा प्रस्तुत गर्न सञ्चारमाध्यमलाई अनुरोध गर्दै उनले मुलुकमा गणतन्त्र प्राप्ति पछाडि स्थापित समावेशिताका कारण २५ हजार २ सय २८ जनाले समावेशी कोटामा निजामती सेवा प्रवेश गरेको तथ्य पढ्न पाउँदा आफूलाई खुसी लागेको बताए । सहिदका योगदानहरूबारे सञ्चारमाध्यमले कलम चलाउनुपर्ने उनले तर्क गरे।

पत्रिकाको रजत गीत सार्वजनिक गरिएको समारोहमा पत्रिका प्रकाशनमा संलग्न रवीन्द्रनाथ सिग्देल, दीपक राउत, अमृत अधिकारी, प्रलाद दाहाल र राजेन्द्र बजगाईंलाई सम्मान गरिएको थियो। पत्रिकाका सहसम्पादक अरविन्द्र गौतम २५ हजार रुपैयाँनगदसहित पुरस्कृत भएका छन् ।

कार्यक्रममा पत्रिकाका स्तम्भकार प्रल्हाद दाहालको कृति ‘अनुभूतिको संगालो’ र दिपा गुरुङ ‘समभाव’ को कथा संग्रह ‘कथा काठमाडौँको विमोचन गरिएको थियो ।

रजत वर्ष शुभारम्भको अवसरमा नव क्षितिज साप्ताहिकले तयार गरेको स्मारिका पूर्व राष्ट्रपति डा. रामवरण यादवले विमोचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस