काभ्रेपलाञ्चोकका पत्रकारको स्वास्थ्य उपचारमा छुट दिन सिडब्लुसीसंँग समझदारी

नौलो समाचार संवाददाता
२०८२ श्रावण १९, सोमबार मा प्रकाशित २७५ पटक पढिएको

काभ्रेपलाञ्चोकका पत्रकारको स्वास्थ्य उपचारमा छुट दिन सिडब्लुसीसंँग समझदारी

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आफ्ना सदस्य, जिल्लामा क्रियाशील पत्रकार र तिनका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न बनेपा स्थित कम्युनिटी वेलनेस सेन्टर (सिडब्लुसी) पोलिक्लिनिकसँग समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।

सोमबार बनेपामा आयोजित कार्यक्रममा महासंघको तर्फबाट शाखा अध्यक्ष बिनोदकुमार न्यौपाने र पोलिक्लिकको तर्फबाट सञ्चालक शशीकुमार सुवालले समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार पत्रकार र तिनका परिवारलाई प्रयोगशाला परीक्षणहरूमा ३० प्रतिशत छुट प्रदान गरिनेछ । इसिजी, एक्स–रे, अल्ट्रासाउण्ड लगायतका सेवामा १० प्रतिशत र औषधिमा १० देखि १८ प्रतिशतसम्म छुट दिइनेछ । नियमित स्वास्थ्य परीक्षण प्याकेजमा विशेष छुट व्यवस्था गरिएको समझदारीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोदकुमार न्यौपानेले जिल्लाका सञ्चारकर्मी र तिनका परिवार लाभान्वित हुनेगरी समझदारी गरेकोमा पोलिक्लिनिकलाई आभार प्रकट गरे ।

पोलिक्लिनिक सञ्चालक शशीकुमार सुवालले समाजमा योगदान दिने सञ्चार क्षेत्रसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । पैसा अभावमा उपचारबाट वञ्चित हुने अवस्था आउन नदिने भन्दै उनले त्यस्ता व्यक्तिहरूको निःशुल्क उपचार प्रबन्ध गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका सल्लाहकार मोतिराम तिमल्सिना, बद्रीराज तिमल्सिना, सचिव नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका कार्यसमिति सदस्य मोहनकृष्ण तिमल्सिना, विकास तिमल्सिना, सविता न्यौपानेलगायत जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस