‘ओली पक्ष’ लाई पेलेरै सकियो राष्ट्रिय युवा संघ काभ्रेको अधिवेशन

नौलो समाचार संवाददाता
२०८२ श्रावण २५, आईतबार मा प्रकाशित ३६६ पटक पढिएको

‘ओली पक्ष’ लाई पेलेरै सकियो राष्ट्रिय युवा संघ काभ्रेको अधिवेशन
राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकको एघारौं जिल्ला अधिवेशनबाट निर्वाचित घोषणा गरिएको कमिटी । तस्वीर स्रोत : सामाजिक सञ्जाल फेसबुकबाट

धुलिखेल / एमाले पार्टी अध्यक्ष ‘केपी शर्मा ओली पक्ष’ लाई पेलेरै राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकको एघारौं जिल्ला अधिवेशन सकिएको छ ।

पूर्व राष्ट्रपति समेत रहेका पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको पक्षमा खुलेको जिल्ला नेतृत्वको समर्थन पाएको समूहले विवादविच अधिवेशन गरेको हो । बागमती प्रदेश अध्यक्ष हरिशरण जमकटेल र काभ्रे इञ्चार्ज रहेका केन्द्रीय सदस्य सागर रायमाझीले अधिवेशन स्थगित गर्न दिएको निर्देशन पनि जिल्ला कमिटीले वेवास्ता गरेको थियो ।

‘ओली पक्ष’ मा खुलेका जिल्ला उपाध्यक्ष रुपक रायमाझी र ६ पालिका कमिटीबाट ‘प्रतिनिधी नै सहभागी नभएको’ अधिवेशनबाट धुलिखेलका सी.बि. लामाको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा आर. बि. बुढाथोकी, सचिवमा अमन धिताल, सह–सचिवमा राजेन्द्र लामा, सगुन थापा, कोषाध्यक्षमा शिव ढुंगेल र संगठन विभागमा प्रमुख किरण तामाङ चयन भएका छन् ।

आफूलाई पेलेर जान खोजिएको र अनाधिकृत रुपमा अधिवेशन आह्वान गरिएकाले स्थगित गर्नुपर्ने पक्षमा उपाध्यक्ष रुपक रायमाझी नेतृत्वको समूह थियो । नमोबुद्ध नगर कमिटी का साथै रोशी, महाभारत, खानीखोला, बेथानचोक र तेमाल गाउँपालिका कमिटीले दोहोरो निर्देशन र परिपत्र आएकाले विवादका बीच प्रतिनिधि चयन गर्न नसक्ने निर्णय गर्दै जिल्ला कमिटीलाई पत्र लेखेका थिए ।

जिल्ला अध्यक्ष ईश्वर बल्लभ सापकोटाले कार्यकारी अधिकार भएको केन्द्रीय कमिटीबाट कुनै निर्देशन नआएको भन्दै अधिवेशन ‘कुनै पनि हालतमा’ नरोकिने बताए ।

जिल्ला कमिटीको निर्णय बेगर नै अधिवेशनको मिति तय गरिएको भन्दै असन्तुष्ट उपाध्यक्ष रूपक रायमाझीको नेतृत्वमा केन्द्र र प्रदेशलाई जानकारी गराइएको थियो । साउन १७ गते तय भएको अधिवेशन मितिमा कुनै सहमति नजुटेपछि केन्द्रीय कमिटी उपाध्यक्ष महाराजा गुरुङ र महासचिव महेश चौलागाई समेतको उपस्थितिमा भएको बैठकमा समेत अधिवेशन मितिबारे कुनै निर्णय हुन सकेको थिएन ।

उद्धघाटन शत्रमा प्रमुख अतिथी निम्त्याइएका राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे सहभागी भएनन् । काभ्रे जिल्लामा पार्टी वटा कमिटीका हरेक अधिवेशनमा प्रमुख अतिथी भएर आउने जिल्ला इञ्चार्ज रहेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा कार्यक्रममा देखिएनन् । धुलिखेल नगरपालिकाको हलमा कार्यक्रम भइरहँदा नगर प्रमुख रहेका एमाले प्रदेश कमिटी सदस्य अशोककुमार व्याञ्जु श्रेष्ठ पनि कार्यक्रमको उद्धघाटन शत्रमा देखिएनन् ।

मूल पार्टी नेकपा एमाले पनि जिल्लामा विभाजित छ। जिल्ला इन्चार्ज रहेका एमाले पोलिट्व्युरो सदस्य गोकुलप्रसाद बास्कोटा, जिल्ला अध्यक्ष राजन भुर्तेल लगायतका नेता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका छन् भने केन्द्रीय सदस्य रेशम लामा, जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्याशी रहेका बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा लगायतका नेताहरु प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस