तामाङ प्रसारण दिवसमा सञ्चारकर्मी सम्मानित

नौलो समाचार संवाददाता
२०८२ भाद्र १, आईतबार मा प्रकाशित ४१६ पटक पढिएको

तामाङ प्रसारण दिवसमा सञ्चारकर्मी सम्मानित

धुलिखेल / तामाङ पत्रकार संघ काभ्रेपलाञ्चोकले ३१ औँ तामाङ प्रसारण दिवसको अवसरमा जिल्लामा क्रियाशील चार सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

धुलिखेलमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा काभ्रेपलाञ्चोकका संस्थापक अध्यक्ष पेमा लामा, पूर्व अध्यक्षहरु चमारसिं तामाङ (शिशिर), जगतमान बल तामाङ र अन्जली तामाङलाई सम्मान गरिएको हो । पत्रकारको पेशागत संगठन र पत्रकारितामार्फत तामाङको भाषा, संस्कृति सम्वद्र्धन, प्रवद्र्धनमा सहयोग गरेको भन्दै संस्थाले उनीहरूलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख एवं नेपाल तामाङ संघ काभ्रेका अध्यक्ष रिमबहादुर तामाङले उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा तामाङले तामाङहरूको भाषा, संस्कृतिको सम्वद्र्धन, प्रवद्र्धनमा सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने तर्क गरे । ‘ब्राम्हणवाद’को विरोध गरेर मात्रै तामाङको उन्नति नहुने भन्दै उनले प्रतिस्पर्धाका लागि तयार हुनुपर्ने बताए ।

रोशी गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइबाले सञ्चारमाध्यमहरू बढे पनि तामाङ लगायतका भाषाका कार्यक्रमहरू कमी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै पहिचान र सभ्यताको संघर्षमा चुकेको तर्क गरे ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले तामाङ भाषाको प्रयोग सोही समुदायमा कम हुँदै गएको तर्क गर्दै उनले भाषा र संस्कृतिको विकासमा संचार क्षेत्रले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष रामप्रसाद ढकाल, समाजवादी प्रेस संगठन काभ्रेपलाञ्चोकका अध्यक्ष दिनेश खरेल, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य अन्जली तामाङ, बागमती प्रदेश सदस्य विकास वाइबा तामाङ, काभ्रेपलाञ्चोक अध्यक्ष लोकबहादुर लामा, सचिव अशोक बुद्ध लामा, कोषाध्यक्ष लालध्वज तामाङलगायतले तामाङ समुदायको उत्थान र विकासको लागि सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने तर्क गरेका थिए ।

प्रतिक्रिया दिनुहोस