५० बर्षपछि लालपूर्जा पाए भुम्लुवासीले

विभिन्न समयमा भएका प्रयासलाई हालका जनप्रतिनिधीले निरन्तर दबाब, समयका साथै स्रोत साधन उपलव्ध गराएपछि लालपूर्जा वितरण सम्भव भएको हो ।
नौलो समाचार संवाददाता
२०८२ भाद्र ३, मंगलबार मा प्रकाशित ४६९ पटक पढिएको

५० बर्षपछि लालपूर्जा पाए भुम्लुवासीले

भुम्लु / नापी भएको ५० बर्षपछि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाउँदा भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ (साविक भुम्लु र फलाँटे ) का स्थानीयमा खुशीको सिमा छैन । यहाँका ९ सय ६९ घरपरिवारले जग्गा उपभोग गरेपनि कानूनी कागजात नहुँदा किनबेचका साथै अन्य कुनै सरकारी तथा वित्तीय काममा प्रयोग गर्न पाएका थिएनन् ।

वि.सं. २०३२ सालमा तत्कालीन भुम्लु र फलाटे गाउँ विकास समितिबिच सिमाना विवाद भएपछि त्यहाँका बासिन्दाले जग्गा नापी भए पनि लालपुर्जा पाउन सकेका थिएनन् । विभिन्न चरणमा भएका प्रयासपछि मंगलबार यहाँका ४ सय ३१ जनालाई जग्गाधनी प्रमाणपूर्जा लालपूर्जा वितरण गरिएको छ । संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी लगायतले लालपूर्जा वितरण गरेका हुन् ।

भुम्लु गाउँपालिका वडा नं ७ फलाटे निवासी तोरणबहादुर क्षेत्रीले लालपुर्जा पाउँदा औधी खुसी लागेको बताए । ’लालपुर्जा नभएकै कारण हिजो कुनै व्यवसाय गर्न चाहँदा पनि मन खुम्चाएर बस्नुपर्ने अवस्था थियो,’ उनले भने, ’अहिले ढिलै भएपनि लालपुर्जा पाउँदा खुसी लागेको छ, जग्गा भएर पनि सुकुम्बासी हुनुपर्ने स्थितिको अन्त्य भएको छ । ’ स्थानीय गोपीकृष्ण उप्रेतीले गाई भैसी पाल्न बैंकबाट ऋण लिन खोज्दा पनि नपाएको तीतो अनुभव सुनाए ।


नापी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले वडा नं ७ मा हालसम्म लालपूर्जा प्राप्तिका लागि निवेदन दिएका मध्ये ६ सय २७ मध्ये लगत भिडाउनका लागि मालपोत कार्यालयमा ४ सय ७३ वटा निवेदन पठाइएकोमा हालसम्म १ सय ८५ को लालपूर्जा तयार भएको बताए । वडा नम्बर ८ मा लालपुर्जाका लागि निवेदन दिएका ८ सय ७० मध्ये ७ सय ४ वटा निवेदनको लगत भिडाउनका लागि मालपोत कार्यालय पठाइएकोमा ४ सय २८ वटा निवेदनको लगत भिडेर आएको छ । ती मध्ये २ सय ४६ को लालपूर्जा तयार भएको छ । लालपुर्जा दिनका लागि गाउँमा खटिएको नापी टोली चार महिनासम्म सम्बन्धित क्षेत्रमा नै खट्ने भएकोले यो अवधिमा प्रमाण पुगेका सबै परिवारलाई लालपुर्जा वितरण गरिने उनले जानकारी दिए ।

भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खत्रीका अनुसार, सबै प्रक्रिया पुगेका वडा नं ७ का १८५ र वडा नं ८ का २४६ गरी ४ सय ३१ जना लाई मंगलबार लालपूर्जा वितरण गरिएको छ ।

लालपूर्जा वितरण गर्दै मन्त्री अधिकारीले राम्रो जग्गा आफ्नोतर्फ पार्ने सिमित व्यक्तिको स्वार्थको लागि वितरण हुन नसकेको लालपूर्जा विभिन्न समितिको प्रतिवेदनका आधारमा वितरण गरिएको बताए ।

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले पाँच दशक दशकसम्मको पीडा अन्त्य भएको बताउँदै लालपुर्जा वितरण मात्र नभई भुम्लुबासीको जीवनमा कानूनी पहिचान, आत्मविश्वास र आर्थिक सुरुवातको नयाँ अध्याय भएको बताए ।

५० वर्षसम्म लालपूर्जा नहुँदा यहाँका वडावासीले पीडादायी समय विताएको भन्दै गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले चुनावको समयमा यहाँका जनतालाई लालपुर्जा प्रदान गर्ने वाचा पुरा गरेको उनले बताए ।

साविकको पिपलटार गाउँ विकास समिति फुटेर बनेको भुम्लुटार र फलाँटे गाविस खेतियोग्य जमिन कुन गाविसमा पर्ने भन्ने विषयमा विवाद हुँदा वि.सं. २०३२ सालमा नापी गर्न गएको टोली फर्किएको थियो । २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा नापीका गएपनि विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।

विवाद समाधान गर्नकै लागि भनेर २०७५ माघ १० गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनिल मरासिनीको संयोजकत्वमा समिति, २०८० माघ २ गते नापी कार्यालयका नापी अधिकृत जयराम तामाङ नेतृत्वमा समस्या समाधान अध्ययन समिति गठन गरेको थियो । त्यस्तै २०८१ जेठ ३१ गते कार्यालयले तयार पारेको प्रतिवेदन र मन्त्रालयले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रयोजनका लागि कार्य योजना तयार गरी पेश गर्न नापी अधिकृत ग्रिष्म प्रधानको अध्यक्षतामा कार्यदल गठन गरी प्रतिवेदन तयार गरिएको थियो । सोहि प्रतिवेदन र भुम्लु गाउँपालिकाले गत वर्ष मङ्सिरमा निवेदन छुटेका स्थानीयसँग पुनः निवेदन माग गरेपछि गत पुस २ गतेदेखि स्थानीयको जग्गासम्बन्धी पुनः छानबिन, नापी हुनुभन्दा अघि भोगचलन तथा त्यसअघिको कागजातका आधारमा अहिले लालपूर्जा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस