संविधान दिवसमा काभ्रेपलाञ्चोकका राजनीतिक दल र स्थानीय तहले गरे कार्यक्रम

नौलो समाचार संवाददाता
२०८२ आश्विन ३, शुक्रबार मा प्रकाशित २२३ पटक पढिएको

संविधान दिवसमा काभ्रेपलाञ्चोकका राजनीतिक दल र स्थानीय तहले गरे कार्यक्रम

बनेपा / संविधान दिवस २०८२ को अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दल र स्थानीय तहले विभिन्न कार्यक्रम गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमालेका साथै नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्वियु क्रान्तिकारी र योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालले बनेपामा विभिन्न कार्यक्रम गरेका हुन् ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले शुक्रबार जिल्ला कार्यालय बनेपामा अन्तरक्रिया गर्यो । कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, जिल्ला सभापति तीर्थ लामालगायतले संविधानमाथि विभिन्न कोणबाट प्रहार भइरहेकाले यसलाई जोगाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको तर्क गरे । संविधान अपरिवर्तनीय दस्तावेज नभएको भन्दै उनीहरुले यसको अस्तित्व माथि प्रहार भए कांग्रेस खरो उत्रने चेतावनी दिए ।

नेकपा एमाले काभ्रेपलाञ्चोकले पनि बनेपामा दीप प्रज्वलनसहित कोणसभा गर्यो। । चारदोबाटोमा आयोजित कार्यक्रममा पोलिटव्युरो सदस्य गोकुलप्रसाद बास्कोटा, संविधानसभा सदस्य रामहरी सुवेदी, जिल्ला अध्यक्ष राजन भुर्तेललगायतले संविधानमाथिको प्रहारलाई डटेर सामना गर्नुपर्ने तर्क गरे ।

बनेपामा वाइसीएल र अनेरास्ववियु क्रान्तिकारीले संविधान दिवसको अवसरमा कार्यक्रम गरे । कार्यक्रममा माओवादी केन्द्रका नेता सुर्यमान दोङ, केन्द्रीय सदस्य रुकु चौलागाईं, जिल्ला संयोजक भोला अर्याललगायतले संविधानको हत्या गर्ने कोसिस नहोस् भन्दै चेतावनी दिए ।

यता, जिल्लाका विभिन्न स्थानीय तहले संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेका छन् । नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका, खानीखोला गाउँपालिका लगायतका स्थानीय तहले सम्बन्धित पालिमा दिवसको अवसरमा दीप प्रज्वलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस