प्राध्यापक डा. प्रेम शर्माको ’एक जीवन तीन मिसन’ सार्वजनिक

नौलो समाचार संवाददाता
२०८२ मंसिर ७, आईतबार मा प्रकाशित १०४ पटक पढिएको

प्राध्यापक डा. प्रेम शर्माको ’एक जीवन तीन मिसन’ सार्वजनिक

बनेपा / त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँबाट सेवानिवृत्त प्राध्यापक डा. प्रेम शर्माको जीवनीमा आधारित ’एक जीवन तीन मिसन’ शीर्षकको कैलाश मानसरोवर यात्रा समेटिएको आत्मपरक वृत्तचित्र सार्वजनिक गरिएको छ ।

शर्मा नै निर्माता रहेको उक्त वृत्तचित्रको लेखन एंव निर्देशन उप–प्राध्यापक डा. राजन विनायक पासाले गरेका हुन् । उत्सव बज्राचार्यको संगीत, प्रशान्त श्रेस्ठको सम्पादन रहेको सो वृतचित्रमा अम्बिका प्रधान र दुर्गाराज पाण्डेको स्वराकंन रहेको छ ।

काठमाडौंको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन प्राध्यापक डा. बालचन्द्र लुइंटेलले सार्वजनिक गरे । उनले प्रेम शर्माको जीवनबाट धेरै प्रेरणा लिन सकिने भन्दै वृत्तचित्र एउटा महत्वपूर्ण विधा भएको र यसलाई धेरैले हेर्ने र धेरै ठाउँमा पुग्ने धारणा राखे ।

वृत्तचित्रका निर्देशक उप–प्राध्यापक डा.राजन विनायक पासाले प्रेम शर्माको जीवन प्रेरणदायी र सङ्घर्षपूर्ण रहेकोले जीवनीमा आधारित आत्मपरक वृत्तचित्र निर्माण गरेर नयाँ कार्य थालनी गरेको बताए ।

त्रिभुवन विश्वविद्यालय नेपाली विभागका सह–प्राध्यापक नेत्र न्यौपानेले हिन्दु धर्म र हिन्दु सभ्यतालाई कैलाश मानसरोवरले चिनाएको चर्चा गर्देै चार धर्मको पावनस्थल रहेको मानसरोवर वृत्तचित्रमा दृश्यचित्र र शब्दचित्रको संयोजन आकर्षक रहेको बताए ।

त्रि.वि. ग्रामीण विकास केन्द्रीय विभागका विभागीय प्रमुख सह–प्राध्यापक डा. सुमन खरेलले प्राध्यापक डा. शर्माको व्यक्तित्वबाट आफु प्रभावित भएको विचार राख्दै पीडामा पनि हाँस्न सक्ने र हरेकलाई दिशाबोध गर्न सक्ने प्रेम शर्मा एक अथक यात्री रहेको तथा सिद्धान्तलाई व्यवहारमा उपयोग गर्न सक्नु नै सही शिक्षा भएको धारणा व्यक्त गरे ।

वरिष्ठ बाल आँखा रोग विशेषज्ञ प्रा. डा.सविना श्रेष्ठले प्रेम शर्माको व्यक्तित्वबाट प्रभावित भएको भन्दै कैलाश मानसरोवरको धार्मिक महत्वमाथि चर्चा गरिन् ।

प्राध्यापक डा. शर्माले जीवनमा आफुले देखे भोगेका घटनाहरुलाई समेटेर वृत्तचित्र बनाई गुरुदक्षिणा प्रदान गरेकोमा वृत्तचित्र निर्माता निर्देशक आफ्ना विद्यार्थीलाई धन्यवाद दिए । नेपाल सम्भावना र अथाह ज्ञानले भरिएको देश हो भन्दै भावी पुस्तालाई नयाँ सिर्जना र व्यावहारिक शिक्षामा लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस