काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई ३१ करोड बजेट

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित ८१८ पटक पढिएको
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई ३१ करोड बजेट

चैत ४, काभ्रे । बहुप्रतिक्षित काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको लागि नेपाल सरकारले ३१ करोड रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाएको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न अर्थमन्त्री डा । युवराज खतिवडाले उक्त रकम विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

आवश्यक आर्थिक विनियोजन गर्न धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे र पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने अर्थमन्त्री खतिवडालाई अनुरोध गर्न पुगेका थिए ।

काभ्रे जिल्लाको धुलिखेल, बनेपा, पनौती नगरपालिका क्षेत्रका करिव एक लाख जनताहरुलाई शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले नेपाल सरकार, एशियाली विकास बैंक र धुलिखेल, बनेपा, पनौती नगरपालिकाहरुको संयुक्त लागत सहभागितामा राष्ट्रिय प्राथमिकता यो आयोजना सञ्चालनमा छ । आयोजना जुन १२, २०१३ देखि संचालनमा आएको थियो ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा खानेपानीका इन्टेकहरु, रिजभ्रवायर टैंकहरु, मुख्य प्रशारण पाइप लाइन र वितरण पाइप लाइन विछ्याउने कार्यहरु लगायत ९७ प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । अब बाँकी काम सम्पन्न गर्न लाग्ने रु ३१ करोड बजेट नेपाल सरकारले दिने गरि अर्थ मन्त्री खतिवडाले सहमति जनाएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख व्याञ्जुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस