रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १६, मंगलबार मा प्रकाशित १३२८ पटक पढिएको
रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी

जेठ १६, काठमाडौँ। टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराउनुभएको हो।

सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिनुभएको थियो। राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन्।

चौधरीलाई तीन वटै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै आजन्म कारावासको सजाय तोकेका थिए।

२०७२ साल भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । त्यो घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो । घटनाको योजनाकारको आरोप लागेका चौधरी त्यसपछि भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा चौधरी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी भएका थिए ।

रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले गएको जेठ २ मा सदर गरेको थियो । रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ । नागरिक उन्मुक्तिले चौधरीलाई सजाय माफी हुनुपर्ने भन्दै सरकार र सत्ता साझेदार दलहरुसँग निरन्तर दबाब दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस