राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १४, आईतबार मा प्रकाशित १८३५ पटक पढिएको

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा

जेठ १४, काठमाडौं। गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

कानुनअनुसार सरकारको सिफारिसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ। आज आइतवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीसहितका कैदीको बाँकी सजाय मिनाह गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । कैलालीको टीकापुरमा सात जना सुरक्षाकर्मी र एक नाबालक गरी आठ जनाको ज्यान गएको घटनामा तीनै तहका अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियाे ।

यस्तै गणतन्त्र दिवसकै अवसरमा १९ जना कैदीले आममाफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ जनालाई आममाफी दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विभिन्न कसुरमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतिले आममाफी दिन सक्ने व्यवस्था पनि कानुनमा छ । तर निश्चित कसुरमा दोषी ठहर भएकाले बाँकी कैद मिनाहा र आममाफी सुविधा पाउने व्यवस्था छैन । ६५ वर्ष पूरा भई ७० वर्ष ननाघे व्यक्तिको कैदलाई २५ प्रतिशतसम्म, ७० वर्ष पूरा भई ७५ वर्ष ननाघेको कैदीलाई ५० प्रतिशतसम्म र ७५ वर्ष उमेर पूरा भएका कैदीलाई ७५ वर्षसम्म कैद छुट दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस