धुलिखेलमा बाग्मती प्रदेश विपद व्यवस्थापन गुल्म स्थापना

नौलो समाचार संवाददाता
२०८१ बैशाख २०, बिहिबार मा प्रकाशित ७२ पटक पढिएको
धुलिखेलमा बाग्मती प्रदेश विपद व्यवस्थापन गुल्म स्थापना

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा बाग्मती प्रदेशस्तरीय विपद व्यवस्थापन गुल्म (बेस) स्थापना गरिएको छ ।

काभ्रे र आसपासका जिल्लामा विपदका घटनामा काम गर्ने गुल्मले उद्धार तथा राहत सामाग्री लगायत तालिम प्राप्त प्रहरी जनशक्ति रहनेछन् ।

विपदमा उद्धार गरिएका व्यक्तिहरुलाई आश्रय पनि उपलव्ध हुनेछ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट २ करोड ८ लाख १३ हजार ८ सय ३१ रुपैयाँ २१ पैसाको लागतमा गुल्मको लागि बनाइएको कम्पाउण्डसहितको गोदाम घर (वायर हाउस), व्यारेक, भान्छा घर मन्त्री गंगानारायण श्रेष्ठले उद्धघाटन गरे ।

उनले विपद प्रतिकार्य गर्नको लागि प्रदेशले पूर्वाधार र जनशक्ति तयार गर्दै लगेको बताए । उनले विपद व्यवस्थापन सबै मन्त्रालयको विषय भएकाले बजेट व्यवस्थापनको लागि सबैमा अनुरोध गरिएको बताए ।

गुल्म उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, बाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक विष्णुकुमार के.सी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का लगायतले सबैको सहयोग र सहकार्यबाट मात्रै विपद प्रतिकार्य गर्न सकिने बताए ।

मन्त्रालयले नुवाकोट र हेटौंडामा पनि विपद व्यवस्थापन गुल्म स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस