पनौती नगरपालिकामा विपद्का लागि ३५ लाख छुट्याईयो

नौलो समाचार संवाददाता
२०७६ चैत्र १०, सोमबार मा प्रकाशित ७६८ पटक पढिएको
पनौती नगरपालिकामा विपद्का लागि ३५ लाख छुट्याईयो

चैत्र १०, काभ्रे । विश्वभर फैलिएको कोरोना भाइरसलाई फैलन नदिन पनौती नगरपालिकाले उच्च सर्तकता अपनाएको छ । त्यसका लागि नगरले बजेट देखी स्वास्थ्यकर्मी परिचालन, ज्वरो नाप्ने क्लिनिक, नागरिकलाई सचेतना, प्रोत्साहन लगायतका कार्यक्रम घोषणा गरेको छ ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरस जस्ता महामारी र विपद्को लागि विपद्–व्यवस्थापन कोष मार्फत ३५ लाख रुपियाँ बजेट व्यवस्थापन गरेको छ ।

नगरपालिकाले मानेश्वरी बसपार्कमा ज्वरो नाप्ने तथा उपचारका लागि हेल्थ डेक्स स्थापना गरेको छ । नगरले कोरोना भाइरसको संक्रमित व्यक्ती फेला परेमा त्यस्तालाई उपचारमा सहयोग पु¥याउनेलाई आवश्यक प्रोत्साहन घोषणा गरेको छ । नगरको सिमावर्ती मुख्य मुख्य नाकाहरुमा स्थानीय सम्बन्धित वडाको समन्वयमा स्वास्थ्य संस्थाले कोरोना बारे सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले वडा न ७ मा रहेको निर्माणाधीन क्षेत्रीय रंगशाला, वडा न ५ को छालाकारखानामा रहेको खुला ठाउँ, वडा न ५ कै शिखर प्लाईउड संचालन रहेको भवन, नगरभित्र रहेका इन्द्रेश्वर, तेजगंगा र कुशादेवी क्याम्पसमा क्वारेन्टाइन क्षेत्र निर्धारण गरेको छ । नगर क्षेत्र भित्रका भीडभाड गर्न सचेत गराउने, घरघरमा साबुन पानीले हात धुने बारेमा सचेतना फैलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस