आज रातिदेखि काभ्रेका अधिकांश स्थानीय तह पूर्ण ‘लकडाउन’

नौलो समाचार संवाददाता
२०७६ चैत्र १०, सोमबार मा प्रकाशित ७३०४ पटक पढिएको
आज रातिदेखि काभ्रेका अधिकांश स्थानीय तह पूर्ण ‘लकडाउन’

चैत १०, काभ्रे । राजधानीमा थप एक ब्यक्तिमा कोरोना संक्रमण देखिएको सार्वजनिक भए लगत्तै काभ्रे जिल्लाका विभिन्न स्थानीय सरकारहरुले आफ्नो क्षेत्र भित्र सुरक्षाका लागि ‘लकडाउन’ गर्ने निर्णय गरेका छन् ।

नागरिकहरुलाई घर भित्रै रहन अनुरोध गर्दै लकडाउनको उल्लंघन गरेमा कारवाही गर्ने कडा निर्णय समेत सार्वजनिक गरेका छन् । बनेपा, धुलिखेल, नमोबुद्ध, पाँचखाल नगरपालिका र महाभारत र खानीखोला गाउँपालिकाले एकै साथ आफ्नो क्षेत्र भित्र लकडाउन गरेका छन् । त्यस्तै स्थानीय सरकार मध्ये उपत्यकासँग जोडिएको बनेपा नगरपालिकाले दिउसो आकस्मिक बैठक राखेर नगर क्षेत्रका सबै स्थानहरुमा लकडाउन गर्ने निर्णय लिएको थियो ।

‘लकडाउन नहुँदा सबै क्षेत्रहरुमा सहज रुपमा आवतजावत हुने भएकाले संक्रमण फैलने डर भएकाले पूर्ण रुपमा अर्काे सूचना नभएसम्मका लागि लकडाउन गर्ने निर्णय भएको हो’–नगर प्रमुख लक्ष्मीनरसिं बादेले जानकारी दिनु भएको छ–‘अत्यावश्यक सेवा र संकटका लागि नगरपालिकाले हटलाईन मार्फत नागरिकहरुलाई सुरक्षा र सेवा दिनेछ ।’

लकडाउनको अवधीमा घरबाहिर ननिस्कन, अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका पेशा व्यवसाय, उद्योगधन्दा तथा सेवाहरु बनेपा नगरपालिका क्षेत्र पूर्ण रुपमा बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

विदेशबाट आएका आफन्त वा कुनै अपरिचित व्यक्ति देखिएमा वडा कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गरी क्वारेन्टाइनमा रहन अभिप्रेरित गर्ने साथै सम्बन्धित वडा कार्यालयले रजिष्टर खडा गरी आगन्तुकको फोन नम्वर सहितको विवरण अध्यावधिक गरी नियमन गर्ने निकायमा उपलब्ध गराउने ।

साथै उक्तकार्यमा स्वास्थ्यचौकी र स्थानीयप्रहरीले आवश्यक समन्वय गरी कार्य गर्ने, घर पसलबाट निस्कने फोहोर नगरपालिकाबाट आएको फोहोर उठाउने सवारी साधनमामात्र राखीआफ्नो घर आँगन र टोल सफा राख्न सबै नगरबासीमा आब्हान गर्ने, संक्रमित विरामीहरुलाई क्वारेन्टाइनका लागि नेपाल रेडक्रसशो सोइटीको तालिम केन्द्र, बुडोलमा रहेको पूर्वाधार प्रयोग गर्ने, थप भवनको लागि पोलिटेक्निक महाविद्यालय बनेपाको भवन प्रयोग गर्ने गरी नगरपालिका र पोलिटेक्निक महाविद्यालयले संयुक्त रुपमा सरसफाइ गर्ने, क्वारेन्टाइन भवनका लागि थप बेडको व्यवस्था नेपाली सेनाले मिलाउने र बेडका लागि आवश्यक कपडा होटल व्यवसायी संघको समन्वयमा काभ्रे उद्योग वाणिज्य संघले मिलाउने, उपलब्ध हुने बेडहरु नेपाली सेना र नेपाल प्रहरीबाट संकलन गरी फिट गर्ने व्यवस्था मिलाउने, क्वारेन्टाइनमा रहने व्यक्तिहरुका लागि काभ्रे उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघको समन्वयमा पतञ्जली योग पीठ बनेपाले खानपीनको प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

अत्यावश्यक परेमा नजिकको प्रहरी चौकी तथा नगरपालिकामा खबर गर्न अनुरोध गरिएको छ । त्यस्तै धुलिखेल नगरपालिकाले पनि नगरका सबै क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुका अनुसार नगरबासिहरुलाई सुरक्षित राख्न लकडाउन गरिएको हो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर, खानीखाला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल लगायतले विज्ञप्ती प्रकाशन गरी आफ्नो क्षेत्रका नागरिकहरुको सुरक्षाका लागि लकडाउन गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस