कुवेतमा आममाफी पाएका २ सय ९९ नेपाली त्रिभुवन विमानस्थलमा ओर्लिए

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २९, बिहिबार मा प्रकाशित १०३२ पटक पढिएको

कुवेतमा आममाफी पाएका २ सय ९९ नेपाली त्रिभुवन विमानस्थलमा ओर्लिए

जेठ २९, काठमाडौं । कुवेतबाट अाज २ सय ९९ महिला नेपाली कामदार नेपाल आएका छन्।

कुवेत सरकारले दुई वटा विमानमार्फत उनीहरुलाई नेपाल पठाएको हो। जजिरा विमानमार्फत पठाइएका उनीहरु सबै आम माफी पाएका हुन्। आम माफी पाएका नेपाली कामदारलाई कुवेत सरकार आफैले पठाएको छ।

बिहान साढे ११ बजे आएको पहिलो विमानमा एक सय ५० र दिउँसो साढे १ बजे आएको विमानमा एक सय ४९ जना नेपाली आएका छन्। दुवै बिमानमा महिलाहरु मात्र थिए।

कुवेतमा अवैधरुपमा बसिरहेका र आपराधिक क्रियाकलापमा बसिरहेकालाई कुवेत सरकारले माफी दिएको थियो। खाडीमा घरेलु कामदारका रुपमा महिलालाई पठाउन सरकारले प्रतिबन्ध लगाएपछि हजारौँ नेपाली महिला अवैध बाटो हुँदै खाडीका विभिन्न देशमा पुगेका छन्।

त्रिभुवन विमानस्थलबाट उनिहरुलाई प्रदेशअनुसार होल्डिङ सेन्टरमा लगिएको छ। त्यहाँबाट उनिहरुले प्रदेश वा स्थानीय निकायका क्वारेन्टाइन वा होटल क्वारेन्टाइनमा पठाइने छ।

यसअघि केही दिनअघि दुबईको विभिन्न कम्पनीले आफै पैसा खर्च गरेर एक सय ६८ जना नेपाली कामदारलाई नेपाल पठाएका थिए। म्यानमारले पनि त्यहाँ अलपत्र २६ जना नेपालीलाई सैनिक विमानमार्फत  नेपाल पठाएको थियो।

विदेशमा अलपत्र रहेका नागरिकलाई नेपालले उद्धार गर्ने निर्णय गरेपछि विभिन्न देशले आफै पठाउन थालेका हुन्। चैत ११ गतेदेखि सुरु भएको लकडाउनयता विदेशबाट नेपालीसमेत आउन प्रतिबन्ध गरिएको थियो। सरकार आफैले पनि फ्लाइट चार्टर्ड गरेर ल्याउँदै छ जसका लागि टिकट खर्च यात्रु आफैले ब्यहोर्नु पर्ने छ।


प्रतिक्रिया दिनुहोस