आज कतारबाट चार्टर्ड उडानमार्फत २० नेपालीको शव आउँदै, वैदेशिक रोजगार बोर्डले घरसम्म पुर्‍याइदिने

नौलो समाचार संवाददाता
२०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ८२९ पटक पढिएको

आज कतारबाट चार्टर्ड उडानमार्फत २० नेपालीको शव आउँदै, वैदेशिक रोजगार बोर्डले घरसम्म पुर्‍याइदिने

असार ५, काठमाण्डौ । कतारबाट आज २० नेपालीको शव ल्याइने भएको छ । कतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको शव दिउँसो काठमाण्डौ आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएको शव वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली दूतावासको समन्वयमा मृतकका सम्बन्धित रोजगारदाताले पठाइदिएका हुन् ।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार, बर्दिया मोतिपुरका सिकराम थारु, सर्लार्हीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव ल्याउन लागिएको हो ।

यस्तै कपिलबस्तुका मोहम्मद अलाम मुसलमान, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङ्का युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव पनि ल्याईंदैछ ।

उनीहरुमध्ये १३ जनाको शव बुझेर बोर्डले मृतकको घरसम्म निःशुल्क पुर्‍याइदिने छ भने सात जनाको काठमाण्डौमै अन्त्येष्टि गरिने आफन्तले बताएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । यस्तै आजै कुवेतबाट नेपाली लिएर आउने जजिरा एअरले पनि २ वटा शव ल्याउनेछ । नुवाकोटकी सोनी तामाङ र संखुुवासभाका मानबहादुर आलेको शव कुवेतबाट आउँदैछ ।

यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बा नुर्बू शेर्पाको शव नेपाल एअरलाइन्समार्फत आउँदैछ । त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि गएको नेपाल एअरलाइन्सको चार्टर्ड जहाजले एउटा शव पनि ल्याउँदैछ ।
आजै साउदीको दमामबाट आएको हिमालय एअरलाइन्सको चार्टर्ड जहाजले पनि एउटा शव ल्याएको छ ।

यसअघि कुवेतबाट ३, ओमानबाट १ र यूएईबाट १ जनाको शव ल्याइएको छ ।

शव घरसम्म बोर्डले पुर्‍याइदिने
विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने गर्छ । त्यसका लागि परिवारले नै काठमाण्डौ आएर निःशुल्क शव ढुवानीका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । तर अहिले कोरोनाको कारण उपत्यका बाहिरबाट काठमाण्डौ आउन सम्भव नभएकाले बोर्ड आफैंले विदेशबाट ल्याइएका शव बुझेर सम्बन्धित घरसम्म पुर्‍यायइदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बोर्डले मृतकको आफन्तसँग समन्वय गर्नेछ ।


प्रतिक्रिया दिनुहोस