ज्वरो मात्र नापेर विदेशबाट फर्काइँदै छ नेपाली, क्वारेन्टिन व्यवस्थापनमा मनपरी

नौलो समाचार संवाददाता
२०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ६३० पटक पढिएको

ज्वरो मात्र नापेर विदेशबाट फर्काइँदै छ नेपाली, क्वारेन्टिन व्यवस्थापनमा मनपरी

असार ५, काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्ने निर्णय गर्दा स्वदेश फर्कने नेपालीले एक साताबीचमा गरिएको कोरोना भाइरस संक्रमण परीक्षणको प्रमाण पेश गर्नुपर्ने अनिवार्य सर्त राखिएको थियो। तर राज्यसंयन्त्र र कुटनीतिक नियोगबीच कमजोर तालमेल हुँदा विदेशबाट फर्कने नेपाली ज्वरो मात्र नापेर आइरहेको स्थिति देखिएको छ।

कोरोना भाइरस संकट व्यवस्थापन-सीसिएमसी स्रोतका अनुसार क्वारेन्टिन व्यवस्थापन भइसकेका बुधबारसम्म आएका एक हजार ९ सय ७१ यात्रुमध्ये तीन सय १० जना कोरोना भाइरस संक्रमण परिक्षण नगरी भित्रिएका हुन्। विदेशबाट ल्याइएकामध्ये केहीमा कोरोना संक्रमणसमेत देखिएको छ।

जेठ २३ गते यूएईबाट आएका ६४ जना, जेठ २३ गते जापानबाट आएका ७ जना, जेठ २७ गते अस्ट्रेलियाबाट आएका २ जना, जेठ ३० गते कुवेतबाट आएका ९ जना, असार १ गते हङकङबाट आएका ७ जना, असार १ गते ओमानबाट आएका १ जना, असार २ गते मालदिभ्सबाट आएका एक सय ४५ जना र असार ३ गते सिंगापुरबाट आएका ७५ जना कोरोना भाइरस संक्रमणको पीसीआर वा आरडिटी परीक्षणबिनै नेपाल भित्रिएका हुन्।

जेठ ३० गते कुवेतबाट आएका १ सय ४९ जनामध्ये पाँच जना अस्पताल भर्ना भइसकेका छन्। त्यस टोलीमा आएकामध्ये कुवेतमा  एक सय ४० जनाको  आरडिटी परिक्षण भएको थियो भने ९ जनाको कोरोना भाइरस संक्रमण परीक्षण भएको थिएन। सोही दिन जापानबाट आएका ६ जनामध्ये २ जना अस्पताल भर्ना भएका छन्। त्यस टोलीमा आएकामध्ये जापानमा तीन जनाले पीसिआर र तीन जनाले आरडिटी परिक्षण गराएका थिए।

हवाई उडानबाट  बुधबारसम्म स्वदेश फर्किएकामध्ये एक हजार एक सय ५३ जना पीसिआर र पाँच सय ८ जना आरडिटी परिक्षण गरेर विमान चढेको स्रोत बताउँछ। कतारबाट नेपाल एयरलाइन्सले शनिबार ल्याउने यात्रु पनि ज्वरो मात्र नापेर स्वदेश फर्कँदैछन्। कतारस्थित नेपाली दुतावासले केही साताअघि नै स्वदेश फर्काइने नेपालीको त्यहाँ आरडिटी तथा पीसिआर परिक्षण सम्भव नहुने स्पष्ट पारेको थियो।

कोरोना परीक्षण नगरी आएका यात्रुलाई सोझै होम क्वारेन्टिन!

सरकारले विदेशबाट फर्कनुपर्ने यात्रुले कोरोना भाइरसको संक्रमण परीक्षण गरेर स्वस्थ रहेको कागजात पेश गर्नुलाई अनिवार्य मात्र भनेको थिएन, नेपाल आइसकेपछि कम्तिमा १४ दिन सरकारी क्वारेन्टिन वा होटल क्वारेन्टिनमा बस्नुपर्ने बताएको थियो।

तर सरकारले पीसीआर परिक्षण गरेर आएका धेरैलाई सोझै घर पठाएको छ भने संक्रमण परिक्षण नगरि आएकालाई समेत होम क्वारेन्टिनको सुबिधा दिइएको छ।

जेठ २३ गते जापानबाट फर्किएका सातै जनालाई होम क्वारेन्टिनमा पठाइयो। उनिहरुमध्ये तीन जनाले पिसिआर र तीन जनाले आरडिटी परिक्षण गराएर आएका थिए।  जेठ २७ गते अस्ट्रेलियाबाट आएका ११ जनामध्ये २ जनाले स्वास्थ्य परिक्षण नगरेको भएपनि उनिहरुलाई पनि होम क्वारेन्टिनमा पठाएको थियो।

जेठ २३ गते यूएईबाट आएका एक सय ६८ जनामध्ये ४६ जनाले पीसिआर र ५८ जनाले आरडिटी परिक्षण गरेको भएपनि एक सय ५६ जनालाई प्रदेशको क्वारेन्टिनमा राखिएको छ। जेठ २९ गते कुवेतबाट आएका २ सय ९९ जनालाई त्यहाँबाट आरडिटी परिक्षण गरेर पठाइएको थियो।

उनिहरु अहिले प्रदेश क्वारेन्टिन र लोकल क्वारेन्टिनमा छन्। पीसिआर परिक्षण गरेर असार १ गते ओमानबाट आएका एक सय ६५ जनामध्ये एक सय २४ जना प्रदेशका क्वारेन्टिनमा छन् भने ३९ जना होम क्वारेन्टिनमा। असार ३ गते बंगलादेशबाट पीसिआर परिक्षण गरेको प्रमाण पेश गरेर आएका एक सय ५७ जनामध्ये ९५ जना प्रदेश क्वारेन्टिन र बाँकी होम क्वारेन्टिनमा छन्।

सोही दिन थाइल्यान्डबाट आएका २ सय ४८ जनामध्ये २ सय ४६ जनासँग पीसिआर परिक्षण गरेको प्रमाण थियो तर तीमध्ये एक सय ४ जना प्रदेश क्वारेन्टिन पुगे भने एक सय ४४ जना होम क्वारेन्टिन। त्यसै दिन कुवेतबाट आएका एक सय ५० जनासँग पीसिआर परिक्षणको प्रमाण भएपनि एक सय १५ जना प्रदेश क्वारेन्टिन पठाइएको थियो।

होटल क्वारेन्टिन नाम मात्र ! एक दुई दिन बसेर छाड्न थाले

सरकारले विदेशबाट उद्धार गरिएका नेपालीका सम्बन्धमा जस्तोसुकै कार्यबिधि तयार गरिएपनि अहिले व्यवहारत् चार किसिमका क्वारेन्टिन देखिएका छन्- प्रदेश क्वारेन्टिन,होटल क्वारेन्टिन, होम क्वारेन्टिन र लोकल क्वारेन्टिन।

बुधबारसम्म विदेशबाट उद्धार गरिएका एक हजार ९ सय ७१ जनामध्ये एक हजार एक सय ५२ जना प्रदेश अर्थात सरकारी क्वारेन्टिनमा पुगेका छन्। एक सय ८५ जना होटल क्वारेन्टिन, २ सय ७४ जना होम क्वारेन्टिन र तीन सय ५३ जना लोकल क्वारेन्टिनमा छन्।

गाउँ फर्कन सक्ने अवस्था पनि नभएका र होटलमा बस्ने क्षमता पनि नभएकालाई राजधानीका विभिन्न स्थानमा सामाजिक संघसंस्थाको सहयोगमा लोकल क्वारेन्टिन बनाएर राख्ने गरिएको सिसिएमसीका एक अधिकारी बताउँछन्।

क्वारेन्टिनका अरु विकल्पहरु देखेपछि होटलमा बसिरहेकाहरु पनि छाड्न थालेको होटल एसोसिएसन अफ नेपालका महासचिव साजन शाक्य बताउँछन्। ‘सुरुमा हामीलाई प्रदेश क्वारेन्टिन नभए होटल क्वारेन्टिन भनिएको थियो तर अहिले होटलमा बसिरहेका पनि एक दुई दिनपछि अन्यत्र सर्न थाले। यस विषयमा हामीले सरोकारावालाको गम्भिर ध्यानाकर्षण गराएका छौँ’, शाक्यले भने।

वैदेशिक रोजगारीमा खाडीमा  रहेकामध्येबाट फर्किएकाहरु को ही पनि होटल क्वारेन्टिनमा बसेका छैनन्। बुधबारसम्मको तथ्यांकअनुसार अफगानिस्तानबाट फर्किएका १८ जना, हङकङबाट फर्किएका ७ जना, मालदिभ्सबाट फर्किएका ८९ जना र सिंगापुरबाट फर्किएका ७१ जना होटल क्वारेन्टिनमा बसेका छन्।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हिजाे (बिहीबार) र अाज (शुक्रबार) थप एक हजार ६५ जना नेपालीलाई विदेशबाट ल्याइएको छ। अाज मात्र ६ सय ५० जना आएका छन्।


प्रतिक्रिया दिनुहोस