मंगलबार खाडी र मलेसियाबाट १५ सय ३० नेपाली स्वदेश आइपुगे, सबैभन्दा धेरै कतारबाट

नौलो समाचार संवाददाता
२०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ४०० पटक पढिएको

मंगलबार खाडी र मलेसियाबाट १५ सय ३० नेपाली स्वदेश आइपुगे, सबैभन्दा धेरै कतारबाट

असार १६, काठमाण्डौ । आज (मंगलबार) विभिन्न देशबाट १५ सय ३० जना नेपाली स्वदेश फर्किएका छन् । आज सबैभन्दा धेरै कतारबाट ४९८ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपाली ल्याउनको लागि विभिन्न देशबाट आठवटा उडान भएको छ ।

नेपाल एअरलाइन्सले कतारको दोहाबाट २६२ जना नेपाली ल्याएको छ । कतारबाट १० वटा शव पनि ल्याएको छ । यस्तै कतार एअरवेजमार्फत दोहाबाटै ९ बच्चासहित २३६ जना नेपाली स्वदेश आइपुगेका छन् ।

आज कुवेतमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि तीन उडान भएका छन् । तीन उडानमार्फत ४७१ जना स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४९ जना र कुवेत सरकारले नै त्यहाँ आममाफीमा सहभागी ३२२ जनालाई जजिरा एअरको दुई उडानमार्फत नेपाल पठाइदिएको हो ।

यस्तै आज नेपाल एअरलाइन्सकै चार्टर्ड उडानमार्फत यूएईको दुबईबाट एक बच्चासहित २६२ जना नेपाली स्वदेश आइपुगेका छन् । एउटा शव पनि ल्याइएको छ । नेपाल एअरलाइन्सकै चार्टर्ड उडानमार्फत मलेसियाको क्लालाम्पुरबाट १४६ जना स्वदेश आइपुगेका विमानस्थलले जनाएको छ ।

आज साउदीको दमामबाट हिमालय एअरको चार्टर्ड उडानमार्फत १५३ जना नेपाली स्वदेश आइपुगेका छन् । आजै नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्स खाडीका विभिन्न देशमा नेपाली लिन गएका छन् ।

नेपाल एअरलाइन्सका जहाज साउदीको रियाद र कतारको दोहा गएका छन् भने हिमालय एयरका जहाज यूएईको आबुधाबी र कतारको दोहा गएको विमानस्थलले जनाएको छ । यी जहाज त्यहाँ समस्यामा परेका नेपाली लिएर भोलि बिहान काठमाण्डौ आइपुग्नेछन् । आज नेपाली ल्याउन र लिन जान गरी १२ वटा अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस