काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

नौलो समाचार संवाददाता
२०७६ चैत्र ९, आईतबार मा प्रकाशित ९६० पटक पढिएको
काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

चैत ९, काठमाण्डौ । सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ ।

सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगन हमालले सोमबारदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहार गर्न पाइने भए पनि काठमाण्डौबाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने बताउनुभयो । यो नियम उपत्यकाका तीन शहर बाहेक सबैतिर लागु हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब पाँचथरबाट ताप्लेजुङ अनि हुम्लाबाट जुम्लासम्म पनि जान रोकिनेछ । यसको अर्थ सीमा जोडिएका जिल्लामा पनि केही समयमा लागि गाडी चलाउन पाइने छैन ।’

महानिर्देशक हमालका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस