सर्वोच्चद्वारा घर जान चाहनेलाई रोक लगाउनुको कारण पेश गर्न सरकारलाई आदेश

नौलो समाचार संवाददाता
२०७७ बैशाख २, मंगलबार मा प्रकाशित ४९८ पटक पढिएको
सर्वोच्चद्वारा घर जान चाहनेलाई रोक लगाउनुको कारण पेश गर्न सरकारलाई आदेश

बैशाख २, काठमाडौं । काठमाडौं उपत्यकालगायत अन्य शहरबाट आफ्नो घर जान चाहनेलाई रोक लगाउनुको कारण पेश गर्न आज (मंगलबार) सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले त्यस्तो कारण १५ दिन भित्र पेश गर्न आदेश दिएको हो । अन्तरिम आदेशबाट घर जान चाहनेलाई व्यवस्था गर्नको लागि आदेश दिन वा नदिने भन्नेसम्बन्धमा तीन दिन पछि सर्वोच्चमा पुन बहस हुनेछ ।

आफ्नो घर जान चाहनेलाई शहरमा नै अलपत्र पारी सरकारले रोकेको स्मरण गर्दै उनीहरुलाई आफ्नो आफ्नो घरसम्म पु¥याउने व्यवस्था गर्नको लागि आदेश दिन मागसहित जनहित संरक्षण मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा सरकारले राजधानीलगायतका शहरबाट आफ्नो घर जानको लागि रोक लगाएर संविधानमा उल्लेख गरिएको हिंडडुल गर्न पाउने हक, स्वास्थ्य सम्बन्धी हक, खाद्यान्नको हकलगायतक हक उल्लंघन गरेको उल्लेख गरिएको छ ।

रिट निवेदनमा घर चाहने ब्यक्तिहरुको पहिले लगत संकलन गर्ने र त्यसपछि सुरक्षित रुपमा सरकारी, सेना, प्रहरीका गाडीबाट उनीहरुलाई सुरक्षित रुपमा व्यवस्था गर्न माग गरिएको छ । घर पठाउनु अघि उनीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्ने र उपयुक्त देखिएमा मात्र गन्तव्यसम्म पुर्‍याउने कर्तव्य सरकारको भएको कानून व्यवसायीहरुको माग छ ।

सरकारले कोभिड–१९ संक्रमण हुने डरले देशभर लकडाउन गरेको छ । यस्तो अवस्थामा जो जहाँ छन् त्यही नै बस्नु पर्ने नीति सरकारले अँगालेको छ ।

प्रतिक्रिया दिनुहोस