काेराेनाले मृत्यु भएकी महिला बालाजु बस्थिन्, थियो तरकारी पसल, अाजै अन्त्येष्टि

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३, शनिबार मा प्रकाशित ८९७ पटक पढिएको

काेराेनाले मृत्यु भएकी महिला बालाजु बस्थिन्, थियो तरकारी पसल, अाजै अन्त्येष्टि

जेठ ३, काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी महिला काठमाडौंको बालाजु/ गोंगबु क्षेत्रमा तरकारी व्यापार गरेर बस्दै आएको खुलेको छ। तर, गर्भधारण यता लामो समयदेखि व्यापारबाट टाढै रहेको खुलेको छ। उनका श्रीमान् नेपाली सेनाबाट राजीनामा दिएर बसेका व्यक्ति हुन्। श्रीमान र उनी बालाजुमै बस्दै आएका थिए।

कोरोना संक्रमणको कारण मृत्यु भएकी उनी सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा ९ राम्चेकी हुन्।

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु भएको यो पहिलो घटना हो। गत बिहीवार स्वासप्रश्वास समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो। उनको उपचारकै क्रममा उनको मृत्यु भएको हो। अस्पतालले महिलाको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

बाह्रबिसे वडा नम्वर ९ स्थायी घर भएकी महिला वैशाख २३ गते प्रसुतिका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन्। २४ गते उनले बच्चा जन्माइन्। २५ गते अस्पतालले उनलाई डिस्चार्ज दियो। त्यसपछि उनी सिन्धुपाल्चोक आफ्नै घरमा पुगिन्। घरमा उनका सासु र ११ वर्षका छोरा छन्।

असहज महसुस भएपछि बिहीवार राति नै उनलाई धुलिखेल अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल पुगेको ५५ मिनटमा नै उनको मृत्यु भयो। उनका श्रीमान र नवजात शिशु अहिले अस्पालमा नै छन्।

उनका बाँकी परिवार बाह्रबिसेमा छन्। महिलाको कोरोना पोजेटिभ पुष्टि भएपछि अहिले घर सिल गरेर कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्।

‘उहाँहरुलाई क्वारेन्टाइनमा राख्ने कुरा भएको छ। उहाँहरुको पनि परीक्षण गर्ने तयारी भइरहेको छ,’ उपप्रमुख प्राखिनले भनिन्।

उपप्रमुख पाख्रिनले बालाजुमा उनले तरकारी पसल संचालन गर्दै आएको जानकारी दिइन्। ‘उहाँ तरकारी पसल गर्नुहुन्थ्यो। तर गर्भ भएपछि २/३ महिनादेखि घरमा नै बस्नु भएको देखिन्छ,’ उपप्रमुख प्राखिनले भनिन्।

यसैविच, कोरोना भाइरसका कारण मृत्यु भएकी ९ दिनकी सुत्केरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा नेपाली सेनाको महामारीको बेला निधन हुने ब्यक्तिहरुको शब ब्यबस्थापन गर्ने टिम मार्फत अन्त्येष्टि गरिएको  छ ।

उनको शव धुलिखेल अस्पतालबाट अाज शनिबार राति नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहस्थल ल्याई अन्तिम संस्कार गरिएको छ।


प्रतिक्रिया दिनुहोस