कदम कदम

गणेशराम लाछि, आखाछेँ
२०७९ भाद्र १८, शनिबार मा प्रकाशित ६७० पटक पढिएको

कदम कदम

सकुनीहरुको रजाईं थियो
पितामहको गाउँमा
सकुनी सकुनी थिए
युधिष्ठीरको ठाउँमा

युद्धै युद्धले घेरिएको थियो
शान्तिको नाउँमा
निमुखालाई पेलेको थियो
आफै जित्ने दाउमा

बजारै भरी लिलाम थियो
द्रौपतीहरुको चीरै चीर
कोहिलाई केके थियो
घुस्याहालाई घुसकै पीर

त्यै भएर हुँदैन थियो
हाम्रै भविष्यको थीर
जो मान्छे काँतर थियो
त्यसको हुन्छ नामै बीर

खिइसकेका छन यहाँ गान्धिवहरु
थाकि सकेका छन् यहाँ अर्जुनहरु
मात्र यहाँ मात लागेका सकुनीहरु
जित्ने दाउमा छ घमण्डी कौरवहरु

युग फिर्यो…।
गुरु भक्त अर्जुन हैन
जनता भक्त योद्धा बोलाऊ
खिइएको गान्धिव हैन
धारीलो मिसाइल उठाऊ

शत्रु जतिलाई धपाऊ
हाम्रै हो देश बचाऊ
अल्छी र थकान बिसाऊ
जनार्दन जनता जगाऊ

छलकपट गर्ने हैन
शान्ती र सुशासनले चलाऊ
देशले चाहेको
युगलाई सुहाएको
परिवर्तनको
बाटो बाटोमा

पाइला पाइला चलाऊ
कदम कदम उठाऊ

– गणेशराम लाछि, आखाछेँ

प्रतिक्रिया दिनुहोस