उकालो चढिरहेको हुस्सु र कुहिरो बीच निस्सासि रहेको जिन्दगीमा
अचानक तिमी
पारिलो घाम बनेर आयौ
शिशिर रितुका शीत र तुसारो ले उजाडिएको बेला
लालुपाते बनी तिमी ममा फुल्न आयौ
अनि
बसन्त छर्न थाल्यौ मेरो जीवनमा ।
यतिविघ्न मायाको पोका
तिमीले किन फुकायौ थाहा छैन
तिमीले
ग्रीष्म याममा
शितलता दियौ चौतारी बनेर
शिशिर याममा
न्यानोपन दियौ सविता बनेर
तिम्रो मनको मूलबाट बग्ने
मायाको कुलोलाई
न औंसीको रातले रोक्न सक्यो
न अभावको पहाडले छेक्न नै सक्यो
न कतै अडियो त्यो कुलो
न कतै मोडियो त्यो कुलो
बदलामा केही पनि मागिनौ
न त गुनासोका कुनै बोली निस्कियो ।
निष्पट्ट अंध्यारोले
आफ्नो साम्राज्य फैलाई रहँदा
तिमी मध्यरातको जून बनी आएको
स्मृति मखमली बनेको छ
पीडाको भारी बोकेर
फत्तक्क गल्दा पनि तिमीले
कहिल्य दुखको सारङ्गी रेटिनौ
आफ्नो जति सबै त्यागेर
मेरो घर सजाउन आएकी तिमी
आफूलाई विर्सेर
मलाई सुखको सिङ्गो आकास
दिन आएकी तिमी
सहनशील धर्ती जस्तै लाग्छ मलाई ।
प्रतिक्रिया दिनुहोस