बाढी र पहिरोले नमोबुद्ध नगरपालिकामा ५ सय ३० घर पूर्ण क्षति, ९ सय ४८ घरधुरी प्रभावित

नौलो समाचार संवाददाता
२०८१ कार्तिक १४, बुधबार मा प्रकाशित ३६२ पटक पढिएको
बाढी र पहिरोले नमोबुद्ध नगरपालिकामा ५ सय ३० घर पूर्ण क्षति, ९ सय ४८ घरधुरी प्रभावित
तस्वीर: रामेश्वर अधिकारीको फेसबुकबाट

भकुण्डेवेशी / गत असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोको कारण नमोबुद्ध नगरपालिकामा ९ सय ४८ घरमा क्षति पुगेको छ ।

नमोबुद्ध नगरपालिकाले सार्वजनिक गरेको तथ्याकंमा ५ सय ३० घरधुरी पूर्ण क्षति , ३ सय १५ घरधुरीमा आंशिक क्षति र १०३ घरमा आंशिक क्षति पुगेको छ । नगरपालिकाले आफ्ना कर्मचारीसहितका जनशक्ति प्रयोग गरेर ११ वटै वडामा तथ्याकं संकलन गरेको थियो । बाढी र पहिरोमा परेर नमोबुद्ध नगरपालिकामा ७ जनाले ज्यान गुमाएका छन् ।

‘बाढी र पहिरोका कारण नमोबुद्धमा मानवीय क्षतिका साथै भौतिक पूर्वाधार समेतमा ठूलो क्षति भएको छ,’ नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले भने, ‘खोज, उद्धार र राहतको काम सकिएको छ, अव पुनर्वास, पुनर्निमार्ण र आयआर्जनका कामका लागि प्रदेश र संघ सरकार र दातृ निकाय समेतलाई अनुरोध गरेका छौं ।’ संघीय सरकारले पनि नमोबुद्धलाई बाढी पहिरो र डुबानबाट अति प्रभावित स्थानीय तहको सूचीमा राखेर राहत, पुनस्र्थापना र पुनर्निर्माणका काम गर्न १ करोड दिने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत शेष कान्त पौडेलका अनुसार, वडा नं १ मा ५५ घर पूर्ण, २१ आंशिक र १० सामान्य क्षतिसहित ८६ घरधुरी प्रभावित भएका छन् । वडा नं २ मा ४० घर पूर्ण, ८ आंशिक र ७ सामान्य क्षतिसहित ५५ घरधुरी प्रभावित भएको छ । वडा नं ३ मा ४४ घर पूर्ण, १९ घर आंशिक र ११ घरमा सामान्य क्षति भएको छ । वडा नं ४ मा २४ घर पूर्ण, ३३ आंशिक र १२ सामान्य क्षतिसहित ७४ घरधुरी प्रभावित छन् ।

४ जनाले ज्यान समेत गुमाएको वडा नं ५ मा ७१ घरधुरी प्रभावित भएका छन् । ती मध्ये ४४ घर पूर्ण, २६ घर आंशिक र १ घरमा सामान्य क्षति भएको छ । वडा नं ६ मा ३१ घर पूर्ण क्षति भएको छ भने २५ घरमा आंशिक र ३ घरमा सामान्य क्षति भएको छ ।

नगरपालिकाका सूचना अधिकारी बुद्धिराज अर्यालका अनुसार, वडा नं ७ मा ९२ घर प्रभावित भएका छन् । ती मध्ये २८ घर पूर्ण क्षति, ६३ घरमा आंशिक क्षति र १ घरमा सामान्य क्षति छ । सबैभन्दा धेरै घर क्षति वडा नं ८ मा भएको छ । १ सय ३४ प्रभावित घरधुरी मध्ये ७८ घरपूर्ण क्षति, ३१ आंशिक र २५ घरमा सामान्य क्षति भएको नगरपालिकाको वेवसाइटमा सार्वजनिक भएको तथ्याकंमा उल्लेख छ ।

वडा नं ९ मा ८९ घर पूर्ण क्षति, ५ घरमा आंशिक र १ घरमा सामान्य क्षति छ । वडा नं १० मा ८४ घर प्रभावित भएका छन् । ४३ घर पूर्ण, ४० घर आंशिक र १ घरमा सामान्य क्षति भएको छ । वडा नं ११ मा १ सय २९ घरधुरी प्रभावित भएका थिए । ती मध्ये ५४ घर पूर्ण क्षति, ४४ घर आंशिक र ३१ घरमा सामान्य क्षति पुगेको तथ्याकंमा उल्लेख छ । अन्य क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको नगरपालिकाका सूचना अधिकारी अर्यालले जानकारी दिए ।

नगरपालिकाले यसअघि १ सय ८४ वटा गोठ तथा पशुफर्ममा ५५ वटा भैंसी, ६३ वटा गाई/गोरु, ३ सय ६३ वटा बाख्रा क्षति भएको प्रारम्भिक तथ्याकं सार्वजनिक गरेको थियो । बाढी र पहिरोले दाप्चा खोला, रोशी खोलासहित सबै वडाका सिंचाइ संरचनाहरु पूर्णरुपमा क्षति भएको जनाएको छ ।

प्रारम्भिक तथ्याकंमा, नगरपालिका तथा वडा स्तरीय २ सय ४७ वटा सडक, ५ वटा पक्की पुल बगाएको उल्लेख छ । दाप्चा खोलातर्फ ४ वटा र विभिन्न वडामा गरी अन्य १० वटा कल्भर्ड पूर्ण रुपमा क्षति पुगेको तथ्यांक छ । ब्नगरपालिकाभित्र १ सय १९ वटा खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस