बाढी र पहिरोले क्षति पुर्याउदा पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना लम्बियो

नौलो समाचार संवाददाता
२०८१ कार्तिक १२, सोमबार मा प्रकाशित १६७ पटक पढिएको
बाढी र पहिरोले क्षति पुर्याउदा पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना लम्बियो

पाँचखाल /  भौतिक प्रगति ९७ दशमलव ०२ प्रतिशत र ९७ दशमलव ४१ प्रतिशत वित्तिय प्रगति भएर सम्पन्न हुने चरणमा रहेको पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण केही समय पर धकेलिएको छ ।

बाढी र पहिरोले आयोजनाको मुख्य वितरण लाइन लगायतका संरचनामा क्षति पुगेपछि मर्मत सम्भारको लागि समय केही थप हुने देखिएको हो । ३ पटक गरेर १६ महिना थपिएको आयोजनाको म्याद असोज २३ गते सकिसकिएको छ । २०७७ असार १५ गते ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्ची बाढी लगायतको कारण देखाउँदै १६ महिना म्याद थप भएको हो ।

‘दशैं सम्ममा केही स्थानका धारामा पानी खसाल्ने र मंसिरसम्ममा सबै घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य थियो,’ आयोजना अन्तर्गतको सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले भने, ‘अन्तिम समयमा बाढी र पहिरोको कारण संरचनामा क्षति पुगेको छ, ती स्थानमा मर्मत गरेर अबको ३ महिनामा खानेपानी सञ्चालन गर्न सकिने विश्वास छ ।’ भुम्लु गाउँपालिका वडा नं १० विमिरेस्थित सुनकोशी नदी किनारमा इनारबाट लिफ्टिङ प्रविधिबाट सञ्चालन हुने गरी आयोजना सञ्चालित छ ।

उपभोक्ता समितिले ३ महिना भनेको छ भने आयोजनाका प्रमुख परामर्शदाता अशोकराज अधिकारीले आयोजनाको इन्टेकदेखि वितरण लाइनसम्म गरी करिब १ करोड २७ लाख बराबरको क्षति भएको भन्दै १ सय २० दिन लाग्ने सुझाव दिएको बताए ।

 

आयोजनाको मुहान क्षेत्रमा डुवान भएको थियो भने करिब ७५ मिटर घेरा पर्खालमा क्षति पुगेको छ । निर्माण कम्पनी कन्काई बिल्डर्स् र चिनियाँ कम्पनी हुवासे (जेभी) का प्रोजेक्ट म्यानेजर इन्द्रमार्न िसं बस्नेतका अनुसार, ४८ स्थानमा वितरण पाईप तथा अन्य केही संरचनामा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण आउदै गरेको, नदेखिएका र मसिना क्षति धेरै भएको भन्दै कम्तीमा ६ महिना म्याद थपिनुपर्ने बताए ।

एक अर्व ४७ करोड ४३ लाख ६० हजारको लागतमा आयोजना सम्पन्न भएपछि पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ५, ७, ८, ९, १०, ११ र १२ का ६ हजार ३७ घरधुरीका ३१ हजार चार सय १५ नागरिक लाभान्वित हुनेछन् । सन् २०४० सम्म ४५ हजार जना लाभान्वित हुने अनुमान छ । एशियाली विकास बैंक, नेपाल सरकारको बजेट, नगर विकास कोषको ऋणसँगै आयोजनाको लागि उपभोक्ताले प्रति परिवार १८ हजार रुपैयाँ जम्मा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस