सहकारी नियमन प्राधिकरण र राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्डका बारेमा अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८२ बैशाख ६, शनिबार मा प्रकाशित २६६ पटक पढिएको
सहकारी नियमन प्राधिकरण र राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्डका बारेमा अन्तरक्रिया

बनेपा / जिल्लाका दुई सहकारी सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई सहकारी नियमन प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था वर्तमान अवस्था, भावी कार्यदिशा साथै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्ड २०८१ का सम्बन्धमा सुसुचित गराएको छ ।

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोक जिल्ला बचत सङ्घ काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा भएको कार्यक्रममा नियमन प्राधिकरण,सहकारी मापदण्ड र निर्देशनका कानुनी पाटाबारे जानकारी गराइएको हो।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्डका कानुनी पक्षबारे कार्यपत्र प्रस्तुत गरेका थिए। सहकारी नियममा बस्दा र नियमित सुपरिवेक्षण, अनुगमन र नियमन हुँदा समस्या नहुने तर्क गर्दै उनले यसका विविध पक्षबारे जानकारी दिएका थिए।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकालले प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था वर्तमान अवस्था र भावी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

जिल्ला बचत सङ्घ काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले नेपाल राष्ट्र बैंकबाट जारी गरेको निर्देशन र मापदण्डले सहकारी संस्थाहरुलाई पर्ने प्रभाव सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए।

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थलगायत सहकारीकर्मीहरूले मापदण्ड र निर्देशनका केही प्रावधानहरूले समस्या पर्ने भएपनि सहकारी क्षेत्रलाई बलियो र मर्यादित बनाउनको लागि यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताए।

कार्यक्रममा जिल्ला संघ र बचत संघमा आबद्ध जिल्लाभरका प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस