बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ १२, सोमबार मा प्रकाशित १०६ पटक पढिएको
बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने

बनेपा /  बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

बनेपा नगरपालिकाको सहयोगमा बनेपा नगर टेबल टेनिस संघले जेठ १५ देखि १७ गतेसम्म राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता गर्न लागेको आयोजक संस्थाका अध्यक्ष परमेश्वर श्रेष्ठले जानकारी दिए ।

१८ वर्ष भन्दा कम उमेर समूहका केटा र केटी समूहविच हुने प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोश्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । खुल्ला पुरुष र महिला (एकल)तर्फ प्रथम हुनेले ४० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

मास्टर (एकल) तर्फ ४० वर्ष उमेर भन्दामाथि समूहमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मास्टर (एकल) ५५ वर्ष उमेर समूहमाथिको प्रतिष्पर्धामा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

बनेपा तथा काभ्रेपलाञ्चोक जिल्लाबाट राष्ट्रिय स्तरका टेबलटेनिसका खेलाडीहरु तयार गर्ने, राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान खेलाडीहरु तयार गर्ने उद्धेश्य रहेको प्रतियोगिता संयोजक शिवशंकर गोथेले बताए ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले टेबलटेनिस खेलको विकासको लागि नगरपालिकाको सहकार्यमा कभर्ड हल निर्माण गर्नुका साथै नियमित प्रशिक्षण समेत सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस