मेयर कप टेबल टेनिसमा दिया र हिमाललाई उपाधी

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ २०, मंगलबार मा प्रकाशित १२१ पटक पढिएको
मेयर कप टेबल टेनिसमा दिया र हिमाललाई उपाधी

बनेपा /  प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि भक्तपुरका दिया देउला र होप टेबल टेनिस एकेडेमीका हिमाल विष्टले जितेका छन् ।

खुला महिलाको फाइनलमा एभिएमकी इभाना थापालाई हराउँदै भक्तपुर नगरपालिकाकी दिया देउला र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीका गणञ्जय दाहाललाई हराउँदै हिमालले खुला पुरुषको उपाधी जितेका हुन् ।

महिला खुलामा स्ट्याग टेबल टेनिस एकेडेमीकी सुस्मिता खड्का र एभिएमकी वियन्का राई तेस्रो भए । पुरुष खुलामा एभिएमका रुविन मर्हजन र सजन गडाल तेस्रो भए । दुवैतर्फका विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रो भएका २ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे ।

महिला यु १८ मा इभाना च्याम्पियन भइन् । उनले फाइनलमा दियालाई हराइन् । स्ट्यागकी सुस्मिता खड्का र एभिएमकी श्रेया शाक्य तेस्रो भइन् ।

पुरुष यु १८ मा एभिएमका प्रजित भट्टराई पहिलो, जयस्नु महर्जन दोस्रो तथा होपका विशाल बापा र स्ट्याग सार्थक मानन्धर तेस्रो भए । दुवैतर्फको विजेताले १५ हजार, दोस्रोले १० र तेस्रोले समा न ५ हजार रुपैयाँ प्राप्त गरे ।

मास्टर ४० वर्षमाथि पुरुष सिंगलमा काठमाडौंका चन्दन शाही विजयी भए ‌। चन्दनले फाइनलमा भक्तपुरका चन्दन कोजुलाई हराए । इंखाछे स्पोट्स क्लबका मुकेश महर्जन र नक्साल टेबल टेनिस क्लबका महेश श्रेष्ठ तेस्रो ।

मास्टर सिंगल ५५ वर्ष माथि गड स्पिन टेबल टेनिस क्लबका रजन सुब्बाले फाइनलमा खोल्चा पुखुः टेबल टेनिस क्लबका क्बका नदिम शाक्यलाई हराए । इंखाछे स्पोटर्स क्लबका राजेन्द्र बज्राचार्य र च्यास युथ क्लब किरण व्यञ्जन्कार तेस्रा भए ।

मास्टर डबल्स ५५ वर्ष माथिमा ललितपुर वडा नं ११ का राजेन्द्र बज्राचार्य र नदिम शाक्यको जोडी विजयी भयो । राजेन्द्र र नदिमको जोडीले एभिएमका जयराम महर्जन र राजन कर्माचार्यको जोडीलाई हरायो । इटिटीका रविन्द्र शाक्य र सुमन खड्गी तथा इंखाछेका निलन श्रेष्ठ र निशान प्रधानको जोडी तेस्रो भयो ।

बनेपा नगर टेबल टेनिस संघको आयोजना तथा बनेपा नगरपालिकाको सहयोगमा काभ्रे बहुमुखी क्याम्पसको कभर्ड हलमा भएको प्रतियोगितामा ७ इभेन्टमा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष परमेश्वर श्रेष्ठले जानकारी दिए ।

काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्र हमाल, बनेपा नगर टेबल टेनिस संघका अध्यक्ष परमेश्वर श्रेष्ठले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस