स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नौलो समाचार संवाददाता
२०८२ अषाढ २, सोमबार मा प्रकाशित २६० पटक पढिएको
स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं / स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गरिएको छ ।

नेपालको आधुनिक स्नायु स्वास्थ्य विज्ञानका ‘पिता’ मानिने प्रा.डा. उपेन्द्र देवकोटाका ७ औं पुण्यतिथी पारेर उपेन्द्र देवकोटा फाउण्डेशनले ‘स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन’ भन्ने मूल नारासहित असार ४ र ५ गते स्नायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन NEUROCON –II आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष प्रा.डा.मधु दीक्षितले प्रा.डा. देवकोटाको निधनपछि शोक मनाएर मात्रै नहुने भन्दै उनले थालेको अनुकरणीय कार्यको निरन्तरताको लागि फाउण्डेशनले काम गरिएको उनले बताइन् ।

स्नायु विज्ञानका विभिन्न विधा न्युरो सर्जरी, न्यूरो–मेडिसिन, न्युरो–रेडियोलोजी, न्युरो–इन्टरभेन्सन, न्युरो–ओटोलोजी, न्युरो–एनेस्थेसिया, न्युरो–साइक्याट्री, न्युरो नर्सिङ एवं पुनस्र्थापनाका बारेमा देश तथा विदेशका विशेषज्ञ, चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्ने आयोजक समितिका सभापति डा। सुरेश थुलुङले जानकारी दिए ।

सम्मेलनमा अमेरिकाको बोस्टन चिल्ड्रन अस्पताल (हावर्ड युनिभर्सिटी), लण्डनको किङ्स कलेज, भारतको अल इण्डिया इष्टिच्युट अफ मेडिकल साइन्सेज र क्रिस्टियन मेडिकल कलेज, भेलोरसहित इजिप्ट, फ्रान्स, पाकिस्तान लगायत देशका विशेषज्ञ चिकित्सक सहभागी भएर २५ वटा सत्रमा १ सय ३५ वटा कार्यपत्र प्रस्तुत गर्नुका साथै त्यसबारेमा छलफल र विमर्श गर्नेछन् । बेलायतका डा.बसेल जेबियन, डा. फ्रान्सेस्को भर्गानी, डा. जोसे पेड्रो लाभाडोर, भारतका डा. आनन्द बाल सुब्रमनियम र डा।.आदित्य गुप्ता लगायत ३१ जना विज्ञहरुले स्नायुको बनोट, फङ्कसनल न्युरोसर्जरी, इन्डोस्कोपबाट ढाड र दिमागको शल्यक्रिया, न्युरो इन्डो भास्कुलर तालिमका साथै न्युरोलोजीको वोटुलिन्म टक्सिनको प्रयोगबारे कार्यपत्र साथै अनुभव आदानप्रदान सम्मेलनको वैज्ञानिक समितिका संयोजक डा.सुरेश विश्वकर्माले जानकारी दिए ।

स्ट्रोक, पार्किन्सन, छारेरोग, अल्जाइमर जस्ता रोगहरू बढ्दो क्रममा भएकाले समयमै पहिचान र उपचारका विधि माथि विमर्श गर्न यो सम्मेलन महत्वपूर्ण हुने विश्वास आयोजकको छ । नयाँ ज्ञान र प्रविधिको प्रयोगले रोग पहिचान र उपचार प्रणालीमा गुणात्मक सुधार ल्याउने, सम्मेलनबाट प्राप्त तथ्यांक र सुझावहरूले चिकित्साका अभ्यासहरु र कालान्तरमा स्वास्थ्य नीतिमा पनि सुधार ल्याउन मद्दत पुग्ने विश्वास लिइएको आयोजक समितिका सचिव डा. सन्तोष कोइरालाले जानकारी दिए ।

सम्मेलनपूर्व असार २ र ३ गते अस्पताल परिसरमा नै ‘प्रि–कन्फरेन्स’ आयोजना गरिएको छ । सम्मेलन पूर्व नै हुने मानव शवको प्रयोगात्मक सीप कार्यशालाका साथै नर्सहरुको लागि एड्भान्स कार्डियाक लाइफ सपोर्ट तालिम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस