पाठ्यक्रम तथा पाठ्यपुस्तकको गुणस्तर सुधारका लागि अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८२ अषाढ १८, बुधबार मा प्रकाशित ३४ पटक पढिएको
पाठ्यक्रम तथा पाठ्यपुस्तकको गुणस्तर सुधारका लागि अन्तरक्रिया

धुलिखेल / पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले पाठ्यक्रम तथा पाठ्यपुस्तकको गुणस्तर सुधारका लागि सरोकारवालासँग अन्तरक्रिया र पृष्ठपोषण संकलन गरेको छ ।

धुलिखेलमा आयोजित कार्यक्रममा केन्द्रले विद्यार्थी, शिक्षक, निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावकका साथै शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा तालिम केन्द्र, सामाजिक विकास कार्यालय र स्थानीय तहका शिक्षा तथा खेलकुद शाखा प्रमुखहरूसँग अन्तरक्रिया गरी पृष्ठपोषण समेत लिएको हो ।

केन्द्रका निर्देशक दिनानाथ गौतमले संवैधानिक र कानुनी आधार, आयोगका प्रतिवेदन, अनुसन्धान प्रतिवेदन, सरोकारवालाको सुझाव, समसामयिक परिस्थिति र राजनीतिक घटनाक्रमका आधारमा समेत पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू हरेक वर्ष अध्यावधिक हुनुका साथै पाँच वर्षमा अल्पकालीन र १० वर्षमा दीर्घकालीन रुपमा परिमार्जन हुने बताए । उनले अन्तरक्रियामा प्राप्त सुझाव र पृष्ठपोषणलाई पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जनका क्रममा समेट्ने जानकारी दिए ।

अन्तरक्रियामा शिक्षा तालिम केन्द्र धुलिखेलका निमित्त प्रमुख सुनिता रेग्मी, विष्णुमाया सापकोटा, बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख देवराज निरौला, शिक्षा विकास तथा समन्वय एकाई धुलिखेलका शाखा अधिकृत वृन्दा भुर्तेल, पासाङ बल तामाङलगायत सहभागी सरोकारवालाहरूले पाठ्यक्रम र पाठ्यपुस्तकका सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस