धुलिखेल / धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा बिहिबारबाट ‘रोजगार मेला’ शुरु भएको छ ।
कम्तीमा १ सय जनालाई रोजगारी दिने लक्ष्यसहित शुरु भएको मेला शुक्रबारसम्म चल्नेछ ।
रोजगारदाता र रोजगारको खोजीमा रहेकालाई एकै ठाउँमा उपस्थित गराउने र दुईविच पुलको काम गर्ने उद्देश्यले नगरपालिकाले गते मेला आयोजना गरेको सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिए । उनका अनुसार, रोजगारदाता र रोजगार खोज्नेहरूबीच प्रत्यक्ष अन्तरक्रिया गराउन मेलामा ३० भन्दा बढी स्टलहरु छन् । नगरभित्रका होटल, अस्पताल, विश्वविद्यालय लगायतका शैक्षिक संस्थाबाट घाँस काट्नेदेखि प्रबन्धक (म्यानेजर) सम्मका ७० भन्दा बढी पदका लागि पहिला नै प्रस्ताव गरेका छन् ।

मेलामा स्वरोजगार उद्यमीका सामान प्रदर्शनी, खानाका स्टल समेत रहेको रोजगार सेवा केन्द्र प्रमुख सम्झना शर्मा नेपालले जानकारी दिइन् । बिहिबार ‘स्वस्थ शहर धुलिखेल : प्रगति र अबको बाटो’ र ‘गन्तव्य धुलिखेलः पर्यटनमार्फत अवसरको खोजी’ शीर्षकमा प्यानल छलफल गरिएको छ । शुक्रवार आर्थिक विकास र शिक्षा बिषयमा प्यानल छलफल हुनेछन् ।
बिहिबार मेलाको उद्दघाटन सत्रमा नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले कार्यक्रमले धुलिखेलको समृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको बताए ।

कार्यक्रममा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी लगायतले रोजगार मेला र यसको सान्दर्भिकताबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस