बनेपा / जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकले सहकारीमा एआइ (आर्टिफिसियल इन्टिलिजेन्स) अर्थात कृतिम बुद्धिमताको प्रयोगका बारेमा सहकारीकर्मीलाई तालिम दिएको छ ।
प्रविधिको प्रयोगबाट सहकारी संस्थाहरूमा सुशासन, सेवा प्रवाह, वित्तीय व्यवस्थापन तथा सदस्य–संवाद प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित तालिममा संचालक समिति र लेखा सुपरिवेक्षण समितिका साथै विभिन्न सहकारी संस्थाका ३२ जना सहभागी भएको शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिको संयोजक एवं संघका उपाध्यक्ष शान्ती लामा तामाङले जानकारी दिइन् । आधुनिक प्रविधिको प्रभावकारी उपयोग मार्फत सदस्यलाई अझ उत्कृष्ट सेवासुविधा प्रदान गर्न संघ निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गरिन् ।
विषयका प्राविधिक विज्ञ सन्दिपराज भाटले एआई आधारित डेटा विश्लेषण, लेखा व्यवस्थापन, सदस्य सेवा स्वचालन, सूचना प्रवाह तथा कागजी कार्यलाई डिजिटल रूपान्तरण गर्ने उपायहरूबारे सहभागीलाई प्रयोगात्मक रुपमा समेत प्रशिक्षण दिएका थिए ।

तालिममा सहकारीको दैनिकी कार्यमा एआई प्रविधि कसरी प्रयोग गर्न सकिन्छ, जोखिम व्यवस्थापन तथा निर्णय प्रक्रियालाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा समेत जानकारी गराइएको संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले जानकारी दिए ।
जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी क्षेत्रलाई प्रविधिसँग जोडेर दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन यस्ता तालिम अत्यन्तै आवश्यक रहेको तर्क गरेका थिए ।
सचिव प्रकाश बञ्जाराले प्रविधिको सकरात्मक र नकरात्मक पक्ष हुने हुदा तालिमबाट प्राप्त ज्ञान र सिपलाई सही प्रयोग गर्नुपर्ने धारण राखे । कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाले एआई सम्वन्धि तालिम सहकारी ब्यवस्थापनमा कर्मचारीहरुको लागी फलदायी सावित हुने विश्वास व्यक्त गर्दै आफ्नो संस्थामा सही तरिकाले प्रयोगमा ल्याउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस