धुलिखेल / नेपाल शैक्षिक परामर्श संघ काभ्रेपलाञ्चोकको दोस्रो साधारणसभा बिहीबार धुलिखेलमा सम्पन्न भएको छ ।
साधारण सभा उद्घाटन गर्दै बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उनले मन्त्रालयले व्यवस्थित गर्न दर्ता, नियमनलाई प्राथमिकता दिएको बताए ।
नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले उच्च शिक्षाको अवसरका लागि संघले काम गरिरहेको बताए ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले विना दर्ता सञ्चालित कन्सलटेन्सीका कारण विद्यार्थी ठगिने अवस्था बन्न नहुने भन्दै संघले ध्यान दिनुपर्ने बताए ।
साधारणसभाले जिल्ला अध्यक्ष भुवन रायमाझीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, सचिव बालकृष्ण न्यौपानेले पेस गरेको प्रतिवेदन र कोषाध्यक्ष अशोक तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । साधारणसभाले आगामी दिनमा शैक्षिक परामर्श क्षेत्रको गुणस्तर वृद्धि, सदस्यहरूको क्षमता अभिवृद्धि र विद्यार्थीहरूको हितमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा काभ्रेपलाञ्चोकका विभिन्न शैक्षिक परामर्श संस्थाका सञ्चालक, व्यवसायी तथा सदस्यहरूको उल्लेख्य सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस