स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) का बारेमा उपेन्द्र देवकोटा मेमोरियल अस्पतालले गर्यो संगोष्ठी

नौलो समाचार संवाददाता
२०८२ पौष १८, शुक्रबार मा प्रकाशित ७६ पटक पढिएको

स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) का बारेमा उपेन्द्र देवकोटा मेमोरियल अस्पतालले गर्यो संगोष्ठी

काठमाडौं — स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स–एआई) को प्रयोग, सम्भावना र नैतिकताका बारेमा छलफल चलाइएको छ ।

उपेन्द्र देवकोटा फाउन्डेशन तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइड साईन्सेस्को आयोजनामा भएको संगोष्ठीमा यसका सम्भावना, वास्तविक चुनौती र समाधानका उपायहरुका साथै स्वास्थ्य सेवाको भविष्य निर्माणमा चिकित्सक र वैज्ञानिकहरूको भूमिकाबारे विवेचना गरियो ।

कार्यक्रममा एमआइटीका वैज्ञानिक तथा प्रविधि उद्यमी डा. निशिकान्त सोनवलकर, नेपाल एप्लाइड मथम्याटिक्स एण्ड इन्फोम्यापटिक्स इष्टिच्युट फर रिसर्च (नामी) का निर्देशक तथा अनुसन्धान वैज्ञानिक डा. बिशेष खनाल र दन्त चिकित्सक तथा स्वास्थ्य उद्यमी डा. नील पाण्डे मुख्य वक्ताका रूपमा सहभागी थिए ।

स्वास्थ्य सेवामा एआईको प्रयोग, यसका सफल अभ्यास र चुनौती, साथै चिकित्सकहरूको जिम्मेवारी तथा स्वास्थ्य सेवामा नैतिकताको सवालमाथि छलफल गर्न कार्यक्रम गरिएको उपेन्द्र देवकोटा फाउन्डेशन तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइड साईन्सेसका कार्यकारी अध्यक्ष प्राध्यापक डा. मधु दीक्षित देवकोटाले जानकारी दिइन् । उनले स्नायु विज्ञानको क्षेत्रमा धेरै विकास भएको तर्क गर्दै रोग निदान, प्रविधिको क्षेत्रमा धेरै विकास भएको बताइन्। उनले संगोष्ठीले स्नायुरोगको औषधि, उपचार र प्रविधिको विकासको लागि सहकार्यको मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

एआईले बिरामी केन्द्रित सेवा कसरी सुदृढ गर्न सक्छ भन्ने विषयमा कार्यक्रममा जोड दिइयो । सहभागीहरुले एआईले तयार गरेको तथ्याङ्कको आधिकारिकता र विश्वसनीयतामा बारेमा प्रश्न गरेका थिए।

एमआइटीका वैज्ञानिक तथा प्रविधि उद्यमी डा. निशिकान्त सोनवलकले एआईले धेरै कुरा सम्भव बनाएको भन्दै यसको प्रयोगमा ध्यान दिनुपर्ने बताए । स्वास्थ्य सेवा क्षेत्रमा एआईले पनि द्रिग्भ्रम सृजना गर्न सक्ने भन्दै तथ्य जाँच गरेर यसको प्रयोग हुनुपर्ने बताए ।

नेपाल एप्लाइड मथम्याटिक्स एण्ड इन्फोम्यापटिक्स इष्टिच्युट फर रिसर्च (नामी) का निर्देशक तथा अनुसन्धान वैज्ञानिक डा. बिशेष खनालले आफ्नो संस्थाले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा गरेको कार्यबारे जानकारी दिँदै नेपालको सन्दर्भमा स्वास्थ्य जनशक्ति, उपकरण, बिरामीको चाप व्यवस्थापन गर्न र स्वास्थ्य सम्बन्धी अध्ययन, अनुसन्धानमा जोड दिन एआईले सहयोग गर्न सक्ने बताए ।

दन्त चिकित्सक तथा स्वास्थ्य उद्यमी डा. नील पाण्डेले एआइले स्वास्थ्यकर्मीलाई प्रतिस्थापन गर्ने नभई उपचार सेवालाई अझै परिष्कृत बनाउने र उपचारमा साथी हुने बताए । स्वास्थ्य सेवामा एआइको प्रयोगले चिकित्सकको समय बचत हुनुका साथै भौगोलिक अवस्थाका कारण स्वास्थ्य सेवामा देखिएको विभेद समेत हट्ने तर्क गरे ।

नेपालको आधुनिक स्नायु स्वास्थ्य विज्ञानका ‘पिता’ प्रा.डा. उपेन्द्र देवकोटाको सपना साकार पारी चिरकालसम्म स्नायु विज्ञानको सम्बद्र्धन एवं विकासका लागि काम गर्न २०७९ फाल्गुण १८ गते स्थापना भएको उपेन्द्र देवकोटा फाउण्डेशनले प्रा. डा. देवकोटाले गर्नु भएको अनुकरणीय कार्यको निरन्तरताका फाउण्डेशनले स्नायु पुनस्थापना केन्द्रको स्थापना, आर्थिक रुपले विपन्न स्नायुसम्बन्धी ’विरामीको औषधि, स्वास्थ्य शिविर, जनचेतनाकाका साथै उपचारमा टेवा पुंग्याउने एवम् स्नायु विज्ञानको प्रवर्धन र विकासका लागि आवश्यक शोधलगायतका कार्य गर्दै राखेको छ ।

प्रा.डा. देवकोटाको स्नायु विज्ञान विधाप्रतिको निष्ठा, त्यसको विकास प्रतिको प्रतिबद्धता तथा देश प्रतिको समर्पणका रुपमा १९ बर्षअघि स्थापित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेजले स्नायु शल्यचिकित्सा (न्युरो सर्जरी) र स्नायु चिकित्सा (न्युरोलोजी), न्युरो इन्टरभेन्सनका साथै स्नायु सम्बद्ध अरु सेवाहरु न्युरो–एनेस्थेसिया, न्युरो–रेडियोलोजी, न्युरो–प्याथोलोजी, न्युरो–साइक्याट्री एंव मनोरोग, न्युरो–अटोलोजी, फिजियोथेरापी र पेन क्लिनिकजस्ता सबै विशिष्ट संवेदनशील सेवा सुविधाहरु एकैसाथ चौबिसै घण्टा एकै छानामुनि उपलब्ध गराउँदै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस