पनौती / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तानले जेन्जी युवा शनिवार संवाद गर्ने भएका छन् ।
पुस्तान्तरणको मुद्दा बोकेर निर्वाचनमा होमिएको नेपाली कांग्रेस र यसका उम्मेदवार मुक्तानले जेन्जीका सवाल, समस्या र समाधानका उपायबारे जेन्जी समुदायसँगै पनौतीमा अन्तरक्रिया गर्न लागेका हुन् ।
‘जेन्जी आन्दोलनबारे नेपाली कांग्रेसले आफ्नो धारणा विभिन्न माध्यमबाट स्पष्ट पारिसकेको छ, दलहरूबाट गल्ती भएको स्वीकार्दै सुधारिने प्रण गर्ने कांग्रेस एकमात्र पार्टी हो,’ कांग्रेस उम्मेदवार मुक्तानले भने, नवयुवाका सबाल र समस्या समाधान गर्नको लागि आफ्नो निर्वाचन क्षेत्रका जेन्जी मतदाताबारे अन्तरक्रिया गर्न लागेको हुँ ।’ कार्यक्रममा जेन्जी उमेर समूहका मतदाताले प्रश्नहरू राख्नेछन् । जेन्जीका सवाल सम्बोधन गर्न आफ्नो र पार्टीका धारणा र प्रतिबद्धताहरू उम्मेदवार मोक्तानले सार्वजनिक गर्नेछन् ।
विकास, सुशासन र सामाजिक न्यायको सवाल बोकेर निर्वाचनमा होमिएको बताउँदै मुक्तानले जेन्जी आन्दोलनको भावना अनुरूप पार्टी भित्र पनि रूपान्तरण गर्न सफल भएको बताए । युवा उमेर समूहको प्रतिनिधित्व गर्ने मुक्तानले जेन्जी नवयुवाले उठाएको सुशासन, युवा प्रतिनिधित्व र रुपान्तरणको अजेण्डाबारे आफु र पार्टी प्रतिवद्ध भएको जानकारी दिए । नवयुवाका सवाल नीतिगत रुपमा नै स्थापित गर्न संसदमा आफ्नो उपस्थिति अनिवार्य भएको भन्दै उनले मत दिएर विजयी बनाउन अनुरोध गरे ।
मुक्तानले यसअघि महिला, कृषक, बुद्धिजीवी, दलित लगायत विभिन्न समुदायसँग छुट्टाछुट्टै अन्तरक्रिया गरी उनीहरूका समस्या सुन्ने र समाधानका लागि आफ्नो पार्टीले गर्ने पहलबारे धारणा राखिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस